नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ ।
अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमूना संकलन गरिएको थियो । त्यसको एसजिन स्त्रिmनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमूनामा ‘एसजिन नेगेटिभ’ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
त्यसको झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा जिन सिक्वेन्सिङ गरिएकामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनायो । तर, त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एस जिन पोजिटिभ’ आएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
यसले के प्रष्ट गर्छ भने स्त्रिmनिङ गर्दा ‘एस जिन पोजिटिभ’ आएका नुमना ओमिक्रोनको बी.ए २ हुन् ।
लक्षण उस्तै तर बढी संक्रामक
धुलिखेल अस्पतालका जेनेटिक ल्याब प्रमुख प्रा.डा. राजिव श्रेष्ठका अनुसार ओमिक्रोनका तीन प्रजाति छन् । जसमा बी.ए १, बी.ए २ र बी.ए ३ छन् । जसमध्ये नेपालमा बी.ए ३ पुष्टि भइसकेको छैन ।
‘ओमिक्रोनको बी.ए १ मा ‘एसजिन नेगेटिभ’ आउँछ । तर, बी.ए २ मा ‘एस जिन पोजिटिभ’ देखिन्छ,’ डा. श्रेष्ठले भने । दुबई, युके लगायतका देशबाट आएका मानिसले ओमिक्रोनको बी.ए १ भित्राएका थिए । तर, भारतमा बी.ए २ फैलिपछि त्यसको प्रभाव नेपालमा पर्न गरेको डा. श्रेष्ठ बताउँछन् ।
‘ओमिक्रोनको सबै सबभेरियन्टमा लक्षण समान नै हुन्छ । तर, स्पाइक प्रोटिनमा बी.ए १ भन्दा बी.ए २ को म्युटेसनको क्षमता बढी हुन्छ,’ डा. श्रेष्ठ भन्छन्,’ अहिलेको नमूनामा बी.ए २ भेटिएको छ । यसले के जनाउँछ भने नेपालमा संक्रमण फैलाउन बी ए २ को ठूलो भूमिका छ ।’
सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन पनि डा. श्रेष्ठको भनाइमा सहमत छन् । ‘सरकारले २३ पुसमा २२ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको सूचना जारी गरेको थियो । तर, त्यसको दुई हप्तामा नै कूल नमूनामध्ये ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइयो,’ डा. पुन भन्छन्,’ अस्पताल आएका बिरामीको समस्या सुन्दा ओमिक्रोनको अर्को प्रजातिले संक्रमण बढाइरहेको त्यसबेला नै मैले शंका गरेको थिएँ ।’
त्यसबेला ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले स्वर परिवर्तन, घाँटीमा केही चिज अड्केको जस्तो अनुभव र नाकबाट पानी बग्ने गरेको सुनाउने गरेको डा. पुन बताउँछन् । ‘ओमिक्रोन सबभेरियन्ट बी.ए १ नेपालमा हुँदा धेरै मानिसहरु अस्पताल आएका थिएनन् । तर, माघको पहिलो हप्ताबाट अस्वाभाविक लक्षण लिएर आएका थिए,’ डा. पुनले भने,’ ८८ प्रतिशत नमूनामा ‘एस जीन पोजेटिभ’ देखिनु भनेको म्युटेसन परिवर्तन भएको बुझिन्छ । यसको मतलव नेपालमा बी.ए २ ले गर्दा नै संक्रमण फैलिएको देखियो ।’