काठमाडौं, १३ असार । सामान्यतया छिटो-छिटो खाँदा, तातो खानासँग चिसो पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुल्की लाग्ने गर्छ ।
बाडुल्की लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिँदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा बाडुल्की लागेको भनिन्छ।
बाडुल्की किन लाग्छ ? यसको जवाफ अझै वैज्ञानिकहरुले किटान गर्न सकेका छैनन् तर बाडुल्की लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुल्की लाग्न सक्छ ।
बाडुल्कीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुल्की लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुल्की किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान जारी नै छ ।
The post के तपाइलाई थाहा छ बाडुल्की लाग्नुको रहस्य ? appeared first on Sajha Post.