काठमाडौं । थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका संचालकले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे। । सरकारसँग २० वर्षको लिज सम्झौता गरेर एक रोपनी जग्गा प्रयोग गर्दै आएको अस्पतालका सञ्चालकले बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०६५ सालमा तत्कालीन भूमिसुधार अधिकारीसँग सम्झौता गरेको भन्दै कागज देखाए ।
हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अस्पतालले अवैध रुपमा प्रयोग गरिरहेको भन्दै २४ घन्टाभित्र जग्गा खाली गर्न सूचना टाँस गराएका छन् । तर, सिंहले महानगरपालिकाको सूचना अनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको बताए ।
‘त्यो जग्गाबाट हामीले टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेका छौं । त्यो सबै तुरुन्तै हटाइदिने हो भने अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरु के गर्ने ? उनीहरुको ज्यान गयो भने को जिम्मेवार हुने ? ’ सिंहले भने ।
सरकारसँग सम्झौता गरेर लिइएको जग्गालाई अवैध प्रयोग गरिएको आरोप लगाइएकोमा दुःख व्यक्त गर्दै उनले प्रतिवाद गरे । ‘सरकारका तर्फबाट तत्कालीन भूमिसुधार अधिकारीले हस्ताक्षर गरेर दिइएको जग्गा हो । जग्गाको भाडा कम भयो भने त्यसको जिम्मेवार पनि सरकार नै हुन्छ । हामीले त कम भाडामा लिन चाहनु स्वाभाविकै हो,’ उनले भने । सिंहका अनुसार बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो भने प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सम्झौतामा उल्लेख छ । त्यसअनुसार अहिले जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको छ ।
उनले सम्झौताबमोजिम भाडा र नियमित ट्याक्स अस्पतालले तिर्दै आएको बताए । २०७५ सालमा एकमुष्ट सात लाख रुपैयाँ बुझाएको उनको भनाइ छ । जग्गाको लिज अझै आठ वर्ष बाँकी रहेको पनि सिंहले बताए ।
मेयर साह आएर सूचना टाँसेर गएपछि हिजै पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनी जानकारी गराएको तर पत्रको जवाफ महानगरबाट नआएको सिंहले बताए ।