काठमाण्डौं । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजाको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, बूढानीलकण्ठ, कालोपुल, बोहोराटार, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय हो । उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन मन्त्रालयले आग्रह गरेको छ। सरसफाइ र खानपानमा ध्यान दिए हैजाको रोकथाम गर्न सकिन्छ । यस्तै, हैजा थप फैलिन नदिन पानीका मुहान तथा स्रोतमा नै शुद्धीकरण गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।