काठमाडौं, १९ जेष्ठ । कोरोना भाइरसबाट मुक्त भएपछि समेत केही लक्षण देखिन्छन् । निको भएपछि देखिने त्यस्ता लक्षणलाई कोभिडपश्चात् देखिने लक्षण (Post-Covid Syndrome) समेत भनिन्छ । र ती लक्षणलाई बेवास्ता गर्दा हाम्रो स्वास्थ्यमा पुन; जोखिम सिर्जना हुन सक्छ ।
कोभिडमुक्त भएपछि अधिकांश मानिसले सास फेर्न अप्ठ्यारो भएको महसुस गर्छन् । त्यस्तै केही मानिसमा छाती दुख्ने समस्या वा मुटुको धडकनसम्बन्धी समस्या देखिन सक्छ ।
साथै, केही मानिसमा निको भएपछि पनि खोकी लाग्ने र मुटुको धडकन बढ्ने जस्ता समस्या देखिन सक्छन् भने केही मानिसमा निरन्तर थकानको महसुस (chronic fatigue syndrome) हुने गर्छ । फलस्वरुप, मानिसहरुले निकै थकित भएको महसुस गर्छन् ।
कोरोनाबाट निको भएपछि केही मानिसमा ‘ब्रेन फग’ अर्थात् सोच्ने क्षमतामा कमी हुने, अलमलमा पर्ने जस्ता समस्या देखिन्छन् । निन्द्रा नलाग्ने, डिप्रेशन हुने र कुनै पनि कुरामा ध्यान दिन नसक्ने समस्याबाट उनीहरु पीडित हुन सक्छन् ।
यसबाहेक, कोरोना जित्न सफल कतिपय मानिसमा मधुमेह देखिन थालेको पाइन्छ । त्यसैले निको भएपछि रगतमा चिनीको मात्रा के-कति छ भनेर जाँच गर्न आवश्यक हुन्छ ।
कोभिडपश्चात देखिने अर्को गम्भीर लक्षण मुटुसम्बन्धी समस्यासँग जोडिएको छ । निको भएका कतिपयमा मानिसलाई हृदयघात हुने जोखिम पनि रहन्छ । त्यसैले मुटुसम्बन्धी कुनै समस्या देखिए तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।
कोभिड-१९ बाट गम्भीर बिरामी भएका तर निको हुन सफल मानिसमा मृगौलासम्बन्धी समस्या पनि देखिन सक्छन् । त्यसैले यस खाले समस्या देखिन थालेपछि ‘कोरोनालाई जितियो’ भन्दै बेवास्ता गर्नु हुँदैन ।
The post कोरोनाबाट मुक्त भएपछि देखिने यी लक्षणलाई बेवास्ता गर्नु हुँदैन appeared first on Sajha Post.