एजेन्सी, १२ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा कोभिड-१९ को उत्परिवर्तित स्वरुप ‘इन्डियन भेरियन्ट’ हालसम्म ५३ मुलुकमा फैलिएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार इन्डियन भेरियन्टबाट हालसम्म ५३ मुलुकका मानिस संक्रमित भएका छन् । अपुष्ट समाचार अनुसार थप ७ वटा मुलुकमा समेत उक्त भेरियन्ट फेला परेको छ ।
विश्वभर कोरोना संक्रमित र मृतकको औसत संख्या घटिरहेका बेला बि.१.६१७ पनि भनिने इन्डियन भेरियन्ट भने फैलिने क्रममा रहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ । बि.१.६१७ भेरियन्ट सुरुमा भारतमा देखिएको थियो । तर हालसम्म उक्त भेरियन्ट बंगलादेश, बेलायतसहित ५३ मुलुकमा फैलिएको छ ।
‘पछिल्ला ४ हप्तामा विश्वव्यापी प्रवृत्तिमा कमी आइरहेको भए पनि कोभिड-१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या उच्च नै छ’, डब्लुएचको प्रतिवेदनमा भनिएको छ, ‘र विश्वका कैयौं मुलुकमा संक्रमण निकै बढेको देखिन्छ ।’
डब्लुएचओले यसअघि नै इन्डियन भेरियन्टको संक्रामक क्षमता बढी भएको बताइसकेको छ र हाल यसको संक्रामक क्षमता र संक्रमण जोखिमबारे थप अध्ययन गरिरहेको छ ।
तर कोरोना भाइरसका अन्य ३ वटा भेरियन्ट देखिएका मुलुकको तुलनामा इन्डियन भेरियन्ट देखिएका मुलुकको संख्या कमै छ । डब्लुएचओको तथ्याङ्क अनुसार केन्ट भेरियन्ट १४९ मुलुकमा, साउथ अफ्रिकन भेरियन्ट १०२ मुलुकमा र ब्राजिलियन भेरियन्ट ५९ मुलुकमा फेला परेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसका ३ वटा भेरियन्ट देखिएका छन् । जेठ ४ गते पुष्टि भएका ‘बी. वान.६१७.१’ र ‘बी.वान.६१७.२’ भेरियन्ट सुरुमा भारतमा पत्ता लागेकाले इन्डियन भेरियन्ट नै भएको मानिन्छ ।
The post इन्डियन भेरियन्ट फैलिने क्रम जारी, हालसम्म ५३ मुलुकका मानिस संक्रमित appeared first on Sajha Post.