एजेन्सी, १२ जेष्ठ । इन्डियन मेडिकल एशोसिएसन (आईएमए) ले भारतीय योग गुरु बाबा रामदेवको नाममा एउटा सूचना जारी गर्दै १५ दिनभित्र माफी नपागे उनीसँग अर्बौं बराबरको क्षतिपूर्ति माग गरिने जनाएको छ ।
आईएमएका सचिव अजय खन्नाको तर्फबाट उनका वकिल नीरज पाण्डेले जारी गरेको ६ पृष्ठे सूचनामा बाबा रामदेवमाथि एलोपेथी एवं एलोपेथीका डाक्टरको अपमान गरेको र उनले १५ दिनभित्र माफी माग्नुपर्ने उल्लेख गरिएको छ । यदि उक्त समयभित्र माफी नमागे एक हजार करोड (१० अर्ब भारु) बराबरको क्षतिपूर्ति माग गरिने समेत आईएमएले प्रस्ट पारेको छ ।
रामदेवको अभिव्यक्ति कानुनबमोजिक अपराध भएको, यसका लागि उनले सूचना प्राप्त गरेको १५ दिनभित्र लिखित रुपमा माफी माग्नुपर्ने र माफी नमागे आईएमएमा आबद्ध २ हजार चिकित्सकलाई प्रतिव्यक्ति ५० लाख बराबरको क्षतिपूर्ति दिनुपर्ने सूचनामार्फत् जानकारी गराइएको छ ।
त्यस्तै रामदेवलाई उनले एलोपेथी तथा डाक्टरमाथि लगाएका सबै आरोपको खण्डन गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्न समेत सूचनामा भनिएको छ ।
रामदेवले उनको कम्पनीद्वारा उत्पादित ‘कोरोनिल किट’ कोभिड-१९ को प्रभावकारी औषधि भनेर दाबी गरिएको एक भ्रामक विज्ञापन समेत फिर्ता लिनुपर्ने र फिर्ता नदिएमा उनीविरुद्ध फौजदारी मुद्दा दायर गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
केही दिनअघि रामदेवले एलोपेथी समेत भनिने आधुनिक चिकित्सा पद्धतिबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि भारतीय चिकित्सहरु आक्रोशित बनेका छन् ।
रामदेवले एक भिडियोमा एलोपेथिक औषधिका कारण कोरोना संक्रमितको मृत्य भएको र यो विधिबाट अधिकांश रोगको उपचार हुन नसक्ने बताएका छन् । तर अधिकांश डाक्टरले ट्विटरमार्फत् उनको आलोचना गरेका छन् भने कतिपयले उनलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । चिकित्सक तथा भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले अभिव्यक्ति फिर्ता लिन भनेपछि भने रामदेवले आफ्नो विवादित अभिव्यक्ति फिर्ता लिएको बताएका छन् ।
तर फिर्ता लिएको एकदिन पछि नै उनले विवादित हुने गरी एउटा पत्र जारी गरेका छन् । उक्त पत्रमा उनले आधुनिक चिकित्सा विधिले २५ थरी रोगको उपचार किन गर्न सक्दैन भन्दै प्रश्न उठाएका छन् । सो पत्रले भारतीय चिकित्सकलाई पुन: आक्रोशित बनाएको छ ।
The post विवादमा रामदेव: डाक्टरसँग माफी नमागे क्षतिपूर्तिस्वरुप १० अर्ब दिनुपर्ने माग appeared first on Sajha Post.