Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाका लक्षणबाट डराइहाल्नु पर्दैन किनभने अधिकांश संक्रमित २ हप्तामा निको हुन्छन्

$
0
0

काठमाडौं, १० बैशाख । कोभिड-१९ को नयाँ प्रजातिले सारा विश्वभर हाहाकार मच्चाइरहेको छ । नेपालमा पनि नयाँ लहर सुरु भएपछि दैनिक रुपमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

सुरुमा चीनबाट सुरु भएको भनिएको कोभिड-१९ को नयाँ उत्परिवर्तनसँगै थप चिन्ता र त्रास बढिरहेको छ । उत्परिवर्तित भाइरसबाट संक्रमितमा यसअघि भन्दा फरक लक्षण देखिन थालेको पछिल्ला अनुसन्धानले देखाउँछन् ।

कोभिड-१९ का लक्षणबारे विभिन्न अध्ययन-अनुसन्धान समेत भइरहेका र यसबाट महत्वपूर्ण जानकारी हासिल भइरहेको छ । अहिलेसम्मका अध्ययनले कोरोना भाइरसबाट संक्रमित भएपछि पूर्ण रुपमा निको हुन कम्तिमा पनि १४ दिन लाग्ने देखाउँछन् ।

कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेपछि लक्षणहरु पनि क्रमित रुपमा देखिन्छन् ।तर लक्षण देखिनासाथ डराइहाल्नु पर्दैन किनभने अधिकांश संक्रमितहरु दुईहप्ताभित्रै पूर्ण रुपले निको हुने गर्छन् । हालसम्मको अनुभव, अध्ययन र अनुसन्धानले पनि यही पुष्टि गर्छन् ।

यस्ता छन्  पहिलो दिनदेखि चौधौं दिनसम्म देखिने लक्षणहरु:

पहिलो दिन: हाम्रो शरीरमा भाइरसले संक्रमण गरेको पहिलो दिन ज्वरो आउने र थकान महसुस हुने हालसम्मको अनुसन्धानले देखाएको छ । संक्रमित मानिसमध्ये ८८ प्रतिशतले पहिलो दिन ज्वरो आएको र थकान भएको महसुस गर्छन् । त्यस्तै कतिपय संक्रमितले पहिलो दिन शरीर दुखेको महसुस गर्छन् र सुख्खा खोकी लाग्न सक्छ । त्यस्तै चीनमा गरिएको एक अध्ययन अनुसार १० प्रतिशत संक्रमितलाई ज्वरो आउनेबित्तिकै पखाला लाग्ने गर्छ ।

दोस्रो दिनदेखि चौथो दिनसम्म: त्यसपछि संक्रमित व्यक्तिमा दोस्रो दिनदेखि चौथो दिनसम्म लगातार ज्वरो र खोकी आउँछ । पाँचौं दिनमा सास फेर्न गाह्रो हुने गर्छ । विशेषगरी वृद्धवृद्धा र अन्य रोग भएका मानिसलाई सास फर्न गाह्रो हुने गर्छ ।

छैटौं दिन: कोरोना भाइरसले संक्रमण गरेको छैटौं दिनमा खोकी र ज्वरोसँगै छाती दुख्ने गर्छ । सातौं दिनमा मुटु दुख्ने र सास फेर्न निकै कठिन हुने गर्छ भने  ओठ र अनुहारमा निलो हुँदै जान्छ ।

सातौं दिन: सातौं दिनमा संक्रमण गम्भीर हुँदै गएमा संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । तर कोरोना भाइरसका हल्का र मध्यम लक्षण देखिएका व्यक्तिको अवस्था भने सातौं दिनपछि सुधार हुने गर्छ । अर्थात् हल्का लक्षण देखिएका मानिसले सातदिनपछि हल्का भएको महसुस गर्छन् ।

आठौं र नवौं दिन: चीनको सिडिसीका अनुसार आठौं र नवौं दिनमा कोरोना संक्रमितमध्ये १५ प्रतिशत मानिसमा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम अर्थात् श्वासप्रश्वाससम्बन्धी गम्भीर लक्षण देखिन्छन् । यस्तो अवस्थामा फोक्सोमा तरल पदार्थ बन्न थाल्छ र पर्याप्त हावा जाँदैन । फलस्वरुप, रगतमा अक्सिजनको कमी हुन्छ ।

दशौं र एघारौं दिनमा सास फेर्न झन कठिन हुने र अवस्था गम्भीर हुँदै गएपछि संक्रमितलाई आईसियू/भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ । तर सास फेर्ने समस्यामा सुधार हुँदै आएका संक्रमितको भने सामान्य रुपमा उपचार गरे पुग्छ ।

बाह्रौं दिन: वुहानमा गरिएको एक अध्ययन अनुसार अधिकांश संक्रमितलाई बाह्रौं दिनमा ज्वरो आउन बन्द हुने गर्छ । तर केही संक्रमितमा खोकीको समस्या देखिई रहन्छ ।

तेह्रौं र चौधौं दिन: कोरोना भाइरसको संक्रमणलाई परास्त गर्दै गएका मानिसले तेह्रो र चौधौं दिनमा सजिलै सास फेर्न सक्छन् । अर्थात् श्वासप्रश्वाससम्बन्धी समस्या अन्त्य हुन्छ ।

चौधौं दिनपछि अधिकांश संक्रमितहरु भाइरसमुक्त हुने गरेको हालसम्मका अनुभव, अध्ययन र अनुसन्धानले देखाउँछन् । तर यदि दुईहप्तापछि पनि लक्षणहरु देखिन छोडेनन् भने यसलाई गम्भीर रुपले लिनुपर्छ ।

The post कोरोनाका लक्षणबाट डराइहाल्नु पर्दैन किनभने अधिकांश संक्रमित २ हप्तामा निको हुन्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles