जाकार्ता, २ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।
संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो ।
ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो ।
त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।
डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् ।
‘कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन्, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ,’ उनले भने ।
उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए ।
स्वास्थ्यसम्वन्धी निकायहरुले सबैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ । एपी
The post कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छः डब्लुएचओ appeared first on Sajha Post.