चितवन, ३ असोज । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शनिबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुने सबैजना चितवनका हुन् ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी खैरहनी नगरपालिका-२ र ४ का ३२ र ४३ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिँदा राप्ती-६ का २४ वर्षीय पुरुष र २२ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालका अनुसार संक्रमण पुष्टि हुने सबैजना क्वारेन्टाइनका हुन् । प्रयोगशालामा शुक्रबारसम्म परीक्षण गरिएका ३१७ नमूनाहरुमध्ये ५ को रिपोर्ट पोजेटिभ आउँदा अन्य ३१२ नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसैबीच चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धि समस्या थियो । उनी अस्पताल आएदेखि नै आइसीयूमा भर्ना भएकी थिइन् ।
The post चितवनमा थपिए ५ कोरोना संक्रमित, सिएमसीमा उपचाररत एकजना संक्रमितको मृत्यु appeared first on Sajha Post.