Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमितको पीडादायी अनुभव- काठमाडौंमा त यस्तो छ, कर्णालीमा कस्तो होला ?

$
0
0

काठमाडौं, ३ भदौ । चार्टर्ड एकाउन्टेन्ट प्रभेश आचार्य काठमाडौंमा बस्छन् । कोरोना संक्रमित रहेका उनले कोरोना परीक्षणदेखि हालसम्म भोगेका अनुभूतिहरु सामाजिक सञ्जालमा साझा गरेका छन् ।

आचार्यले ‘कति दु:ख दिन सकेको होला ?’ शीर्षकमा उनले कोरोनापछि पाएको हण्डरठक्कर र सरकारको अनुपस्थितिले पाएको मानसिक तनावका श्रृंखलाहरुलाई सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

सरकारले कोरोना नियन्त्रणमा उदाहरणीय काम गरिरहेको बताइरहँदा कोरोना संक्रमितको अनुभव भने पीडादायी रहने गरेका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । काठमाडौंमै कोरोना संक्रमितको अनुभूति सुन्दा सरकारको कोरोनाविरुद्ध तयारी कति कमजोर छ भन्ने स्पष्ट हुन्छ ।

उनी लेख्छन्-
‘कति दुःख दिन सकेका होला ?’

मैले कोरोनाको परीक्षण टिचिङ्ग अस्पताल महराजगन्जमा आईतबार गरेँ । सरकारको नियम अनुसार ५५०० मा कोभिड परीक्षण गर्नुपर्ने थियो । पहिले ५५०० तिरे पछि, फेरि आवश्यक किट किनेर ल्याउन भनियो । त्यसबापत् फेरि मैले रु. ३७५ तिर्नु पर्‍यो । सरकारले गरेको घोषणअनुसार सबै ५५०० मा नै हुनुपर्ने थियो ।

त्रासपूर्ण मानसिकता भएको बेला केही नबोली तिरेँ । स्वाव दिए पछि, मंगलबार बिहान १० बजे १३ नम्बर काउन्टरमा आएर रिपोर्ट लिन भनियो । मैले मंगलबार सम्पर्क गर्दा, ‘रिपोर्ट दिन सकिँदैन तपाईंलाई फोन आउँछ’ भनियो । मैले ‘रिपोर्ट दिनोस् यदि म संक्रमित भए अरुलाई सर्न सक्छ । म आईसोलेसनमा जान्छु’ भन्दा पनि रिपोर्ट दिइएन ।

मैले ल्याबको फोनमा फोन गर्दा, तपाईंलाई EDCD टेकु बाट फोन आउँछ भनियो । मंगलबार कुरेँ फोन आएन । बुधबार बिहान म आफैले फोन गरेँ । हामी कहाँ रिपोर्ट आएको छैन भनियो । बेलुका चिनेको मान्छे खोजेर फोन गरेँ, उनले ‘सुटुक्क’ पोजेटिभ छ भनेर फोन राखे । तर औपचारिक रुपमा के हो थाहा पाउन सकिएन ।

बिहीवार पनि मलाई फोन आएन । एकजना पत्रकार दाईले स्वस्थ्य मन्त्रीको सचिवालयमा फोन गरेर गुनासो गरे पछि बिहीवार बेलुका फोन आयो । ‘तपाईंको पोजेटिभ छ’।

त्यो भन्दा अरु केही कुरा भएन । मेरो कन्ट्याक्ट् ट्रेसिङ्ग, मेरो स्वस्थ्य अवस्था केही सोधिएन । मैले आफैं भन्न खोज्दा वार्ड अफिसबाट फोन आउँछ भनेर भनियो । आज १० दिन भयो कतैबाट न त फोन आएको छ न त कन्ट्याक्ट् ट्रेसिङ्ग भएको छ ।

यो बेलामा मेरो स्वास्थ्यमा समस्या पनि देखियो । हाम्रो घरमा नै स्वास्थ्यकर्मी भएकोले सम्बन्धित रोगको डाक्टर सङ्ग सम्पर्क गरेर व्यवस्थापन गर्न सम्भव भयो। के सबैलाई यो सम्भव होला ?

अझ बिडम्बना: मैले स्वस्थ्य विमा गरेको थिएँ । त्यो दावी गर्न रिपोर्टको जरुरी पर्छ । मैले रिपोर्ट मागेँ । सुरुमा EDCD ले एक हप्ता कुर्नोस आफै आउँछ भन्यो । एक हप्ता कुरेँ अनि फेरि सम्पर्क गरेँ, हामीले दिने होइन टिचिङ्गले दिने हो वहाँ सम्पर्क गर्नोस् भनियो । फेरि टिचिङ्गमा पुग्दा, हामीले दिन मिल्दैन मन्त्रालयको पत्र लिएर आउनोस् भनेर आज जवाफ पाएँ ।

अब मन्त्रालयमा एउटा पत्र खोज्दै कहाँ जाउँ ? आफैं पैसा तिरेर स्वस्थ्यको जानकारी लिन पनि मन्त्रालयको सिफारिस ? आफ्नो रिपोर्टको लागि पनि भनसुन गर्नु पर्ने हो ? यस्तो हो भने कुनै दिन आफ्नो रिपोर्ट लिन पनि घुस खुवाउन पर्‍यो भन्दा अचम्म मान्नु पर्ने छैन ।

ए सरकार : हामी जनता हो कि फुटबल ?

आचार्यलाई कोरोना संक्रमण हुँदा आरोहअवरोहमा सँगै रहेकी उनकी पार्टनर नुरा सापकोटा दुर्गाले पनि काठमाडौंमा सरकार नरहेको अनुभूति सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

लामो स्टाटससँगै उनले अनुभूति लेखेकी छिन्, ‘तपाई नझुक्किनोस् है, हामी कर्णालीको हुम्लामा छैनौं ! सिंहदरबारको र संसद भवनको बीचमा बानेश्वरमा बस्छौ !’

यस्तो छ नुराको अनुभूति-

हैन, कस्तो खालको कन्ट्याक्ट ट्रेसिङ्ग (Contact Tracing) हो ?

मेरो पार्टनरलाई लक्षण देखिएर उपचार गराउन जाँदा सरकारले तोकेको भन्दा धेरै तिरेर (किटको अलग्गै) टिचिङ अस्पतालबाट कोरोना परिक्षण गरियो । उनको कोरोना पोजेटिभ आयो । त्यसको केहि दिनपछि तपाइलाई वार्ड अफिसबाट फोन आउँछ भनेर EDCD बाट फोन आयो !

सुरुदेखि नै संगै भएको भएर पक्का पनि कन्ट्याक्ट ट्रेसिङ्ग गरेर मेरो लगायतका परिवारको सदस्यहरुको परीक्षण होला भनेर बसेको, १० दिन पुग्दासम्म पनि कतैबाट फोन आएको छैन ! केहि दिन पछिसम्म पनि फोन नआएको भएर हामी आफैले पैसा तिरेर ह्याम्स अस्पतालमा गएर परीक्षण गरियो !

अव दोस्रो परीक्षण गर्ने बेलामा के छ, प्रोटोकल भनेर EDCD मा फोन गरेर सोधेको, दोस्रो परीक्षण हाम्रो प्रोटोकलमा छैन ! पहिलो मात्रै नि:शुल्क हामीले गर्ने हो ! तपाईंले आफै पैसा तिरेर परीक्षण गर्नु होला भनियो ! हामी रनभुल्लमा परेका छौं, कन्ट्याक्ट ट्रेसीङ्ग गरेर हाम्रो पहिलो परीक्षण कहिले हुने होला ?

तपाई नझुक्किनोस् है, हामी कर्णालीको हुम्लामा छैनौं ! सिंहदरबारको र संसद भवनको बीचमा बानेश्वरमा बस्छौ !

The post कोरोना संक्रमितको पीडादायी अनुभव- काठमाडौंमा त यस्तो छ, कर्णालीमा कस्तो होला ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles