काठमाडौं, ३ असार । नेपालमा बुधबार बिहानसम्म स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ७३ जिल्लामा कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना संक्रमण नभेटिएका ४ जिल्लामा बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङसँगै प्रदेश १ ओखलढुंगा जिल्ला रहेका छन् ।
कोरोनाबाट अत्यधिक प्रभावितमा प्रदेश नं. २ र ५ का गरी १० जिल्ला रहेका छन् । यीमध्ये पनि ४ जिल्लामा कोरोनाको जोखिम उच्च रहेको भन्दै त्यहाँ बन्दाबन्दीलाई थप कडा बनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । ती जिल्लाहरुलाई कोरोनाको ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको हो ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेख रहेका छन् । ‘हटस्पट’को सूचीमा रहेका यी जिल्लाहरुमा तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।
सरकारले २०० भन्दा बढी संक्रमित भेटिएका जिल्लालाई अत्यधिक प्रभावित जिल्लाहरुमा सूचिकृत गरेको छ भने ५१ देखि १९९ सम्म संक्रमित भेटिएका जिल्लालाई मध्यम स्तरको प्रभावित जिल्लामा सूचिकृत गरेको छ ।
हेर्नुहोस् जिल्लाअनुसार संक्रमितहरुको विवरण-
मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमण प्रदेश नं. २ मा देखिएको छ । त्यहाँ २ हजार ४६५ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यू भएको छ । यीमध्ये ४५४ जना कोरोनालाई जितेर घर फर्किइसकेका छन् ।
कोरोनाबाट बढी प्रभावित प्रदेशमा प्रदेश नं. ५ पनि रहेको छ । त्यहाँ बुधबारसम्म १ हजार ८२१ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यू भएको छ । अहिलेसम्म त्यहाँबाट ३५२ जना डिस्चार्ज भइसकेका छन् ।
गण्डकी प्रदेशमा कोरोनाबाट सबैभन्दा कम संक्रमण देखिएको छ । त्यहाँ २२१ जना संक्रमित भएकोमा १ जनाको मृत्यू भएका छन् भने १४ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
The post कुन जिल्लामा कति पुगे कोरोना संक्रमित, यस्तो छ जिल्लागत विवरण appeared first on Sajha Post.