काठमाडौं, १ असार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४५१ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार ३५ महिला र ४१६ पुरुष गरेर ४५१ जना नयाँ संक्रमित थपिएका छन् । उनले हालसम्म नेपालमा १ लाख ३८ हजार ६८३ पीसीआर परीक्षण भएको बताए ।
त्यस्तै २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ पीसीआर र ८ हजार ६१५ आरडीटी विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म एक हजार ४१ जना डिस्चार्ज भएको प्रवक्त गौतमले बताए । निको हुनेको संख्या कुल संक्रमित संख्याको एक चौथाई भन्दा कम हो । यसरी हेर्दा नेपालमा कोरोना संक्रमितको निको हुने दर न्यून रहेको देखिएको छ ।
भारतमा अघिल्लो साताको तथ्यांकअनुसार हरेक ५ दिनमा ५० हजार संक्रमित बढ्ने तथ्यांक देखिएको थियो । त्यहाँ सुरुमा संक्रमितको संख्या ५० हजार पुग्न ९८ दिन लागेको थियो । तर संक्रमणको रफ्तार यति तीव्र भयो कि अर्को ५० हजार संक्रमित केवल १२ दिनमा पुगे ।
त्यसबाट एक लाखबाट साढे एक लाख हुन ८ दिन मात्रै लाग्यो भने १.५ लाख बाट २ लाख हुन केवल ७ दिन लाग्यो । अब हरेक पाँच दिनमा ५० हजार नयाँ संक्रमित थपिइरहेका छन् । २ लाख ५० हजार हुन ५ दिन र २.५ बाट ३ लाख पुग्न केवल ५ दिन नै लागेको तथ्यांकले देखाउँछ ।
भारतमा निको हुनेको संख्या पनि उत्साहजनक नै छ । यहाँ संक्रमितमध्ये झण्डै आधा निको भइसकेका छन् । ४९.३४ प्रतिशत निको हुने दर भारतमा देखिएको छ । त्यो भनेको १०० बिरामीमध्ये ४९ जना निको भइसकेका छन् ।
संसारमा बेलायतमा निको हुने दर सबैभन्दा कम देखिएको छ । यहाँ २.९३ लाख बिरामीमध्ये केवल ०.०७६ प्रतिशत मात्र निको भएका छन् । भारतको भन्दा रुसको निको हुने दर छ । त्यहाँ १०० जना बिरामीमा ५१ भन्दा बढी मानिस निको भइरहेका छन् । अमेरिकामा भने १०० जना बिरामीमा केवल ३९ जना मात्र निको भएको देखिन्छ ।
नेपालमा अहिले देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन् ।
The post नेपालमा कोरोना संक्रमित निको हुने दर न्यून appeared first on Sajha Post.