एजेन्सी, २२ चैत । मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई ‘लकडाउन’ का बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्।
दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशु चिकित्साविज्ञले त्यस्तो सुझाव दिएका हुन्।
हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो।
पशुचिकित्सकले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन्।
जनावरका भुत्लाबाट भाइरस सङ्क्रमण फैलिन जोखिम कम गर्न उनीहरूले त्यस्तो सुझाव दिएका बीबीसीले जनाएकाे छ । ब्रिटिश पशुचिकित्सक सङ्घले मानिसलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था भने नरहेको बताएएका छन् ।
हङ्कङको सिटी विश्वविद्यालयकी डा. एन्जेल एल्मेन्ड्रोजले बीबीसी न्यूजसँग कुरा गर्दै अहिलेसम्म घरपालुवा कुकुर वा बिरालोले मानिसमा कोभिड-१९ रोग सारेको प्रमाण भने नरहेकाे बताइन् ।
अध्ययनहरूले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ।
आफ्ना हातबाट जनावरका भुत्लामा भाइरस सर्न नदिन मानिसहरूले सावधानी अपनाउनुपर्ने सुझाव ब्रिटिश पशुचिकित्सक सङ्घकी प्रमुख ड्यान्येला डोस स्यान्टोसले दिएकी छन्।
उनले भनिन्, “सरसफाइमा ध्यान दिनुहोस् र बिरालाहरूलाई घरभित्रै राख्नुहोस् । जनावरलाई अनावश्यक छुने र अँगालो हाल्ने वा आफ्नो अनुहार चाट्न दिने जस्ता कार्य नगर्नुहोस्।”
“जनावरलाई बाहिर हिँडाउदा अरूले पालेका कुकरलाई छुने जस्ता काम पनि नगर्नुहोस्।”
The post विरालो लगायत जनावरलाई घरभित्रै राख्न भेटेरेनरी वैज्ञानिकको शुझाव appeared first on Sajha Post.