Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मुखको हेरचाहः ‘जब पर्‍यो राती तब बुढी ताती’नगरौं

$
0
0

अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीररुपमा नलिने हाम्रो प्रवृत्ति छ । सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिइरहेको छ । सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत तथा मुखका रोगहरूबाट मानिसको तत्कालै इहलीला समाप्त भएको पनि देखिँदैन ।

त्यस्तै, प्रायजसो दाँत र मुखमा लाग्ने रोग लगातार दुःख दिने समस्याको रूपमा नभई बीचबीचमा मात्र बल्झिने प्रकृतिका हुन्छन् । अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारणले झनै रोगीहरू ‘जब पर्‍यो राती तब बुढी ताती’ भन्ने उखान झै दुखाई बढेपछि र यो रोगले जटिलता निम्त्याएपछि मात्र स्वास्थ्य संस्थाको ढोका ढकढकाउने वा चिकित्सक कहाँ पुग्ने गर्दछन् । परिमाणतः रोग निको हुन लामो समय लाग्ने, कठिन प्रक्रिया अपनाउन पर्ने भएकोले दन्त्य उपचार सबैलाई महंगो पनि लागिरहेको छ ।

मुख्य रोग र प्रकोपता
भन्न त सबैले आफ्नो क्षेत्रलाई ठूलो समस्या भएको, भयानक तथा दर्दनाक रोगहरु पाईने भन्ने गर्छन् । समस्याको मात्रा, तथ्यांक र विभिन्न खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या बढी छ । दन्तहर्ष रुघाखोकी भन्दा बढी पाईन्छन् । गाउँघरमा गिजा सम्बन्धि रोग, त्यसपछि दाँत खिइने रोग प्रमुखरूपमा देखा पर्दछ भने शहर बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्दछन् ।

दन्त स्वास्थ्यका प्रमुख रोगहरूको कुरा गर्नुपर्दा दन्त सड्ने, दन्तहर्षा, पाइरिया, दाँत सिरिङ्ग-सिरिङ्ग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउखटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा परेका जस्ता समस्या भेटिन्छन् । साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे तथा दन्त अपांग वा थोेते भएको पनि त्यतिकै भेटिन्छन् । प्रकोपको कुरा गर्दा दन्तसड्नको मात्र उपचार एकैपटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको १० गुणा लाग्न सक्ने अनुमान छ ।

डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तराष्ट्रिय विज्ञप्तिअनुसार विश्वका ७ अर्ब जनसंख्या मध्ये ६ अर्ब ७५ करोड दाँतको रोगबाट पीडित छन् ।विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कूल जाने उमेरका बालबालिका ९० प्रतिशत बढी दन्तरोगी छन् । हाल विकसित मुलुकमा प्रति दुई हजार जनसंख्यामा १ र विकासोन्मुख राष्ट्रमा प्रति साढे १ लाख जनसंख्यामा एक जना दन्तचिकित्सक उपलब्ध छन् ।नेपालमा हाल ३ हजार ३ सय दन्तचिकित्सक र २ हजार ५ सय दन्तसहायक, हाईजिनीष्ट, डेण्टल ल्याब सहायक दर्ता भएपनि आधाजति विदेशमा छन् ।

मुख आयतनले सानो अंग भए पनि महत्वको आधारमा ज्यादै ठूलो एवम् अहम् अंग हो । किनभने मुख शरीरको प्रवेशद्वार हो । मुखबाट खाईएका/लिईएका खाद्यपदार्थहरू खाना, नास्ता, औषधीले शरीरका सम्पूर्ण अंग-प्रत्यङ्गलाई स्वस्थ राख्न सहयोग पुर्‍याइरहेका हुन्छन्, जसबाट मात्र एउटा स्वस्थ मानिसको कल्पना गर्न सकिन्छ । एउटा अस्वस्थ, रोगी वा बिरामी, फोहर मुखबाट लिइएको खाद्य पदार्थ जतिसुकै महंगो स्वादिलो वा आकर्षक भएपनि शरीरले वा शरीरका अंग-प्रत्यङ्गले समुचित रूपमा सदुपयोग गर्न सक्दैन । त्यसकारण पनि ‘स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो’ भन्ने गरिन्छ ।

एकातिर मुखका अङ्ग-प्रत्यङ्ग र दाँतमा देखिने समस्या वा रोगहरू मुखसँगै मात्र सम्बन्धित हुनसक्छन् भने अर्कोतिर शरीरका अंग-प्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरूको प्रतिविम्ब मुखका अंग-प्रत्यङ्गमा देखिएको हुनसक्छ । त्यही भएर नै मुखलाई शरीरको ऐना भन्ने गरिन्छ । केहीमा शरीरमा देखिने रोगको परिसूचकको रूपमा अर्थात् शरीरमा रोग देखिनु भन्दा पहिले नै मुखमा समस्या देखिन पनि सक्छ । जस्तै, दादुरा आउनु भन्दा २/४ दिन पहिले मुखमा कपलिक स्पट देखिन्छ । एचआईभी एड्समा सबैभन्दा पहिले मुखमा कापोसिस सार्कोमा देखिने गर्दछ ।

केहीमा शरीरमा र मुखमा लक्षण तथा चिन्हहरू साथ साथै देखिने गर्दछन् । जस्तै- मधुमेहीमा फलफूलको गन्धजस्तो श्वास गन्ध आउने, रक्तअल्पतामा मुख र जिब्रोको सुजन हुनेगर्छ । यसरी अन्य रोगको निदान गर्न मुखमा आएका घाउ खटिरा र रोगले सहयोग पुर्‍याउँदछन् । केहीमा प्रणालीका रोगद्वारा जटिलता उत्पन्न भएर मुखमा समस्या देखिन सक्दछन् । जस्तै कलेजोको रोगमा गिजाबाट रगत आउने, मुखबाट बिग्रेको अण्डाको गन्ध आउने हुन्छ ।

दन्तलेउमा भएको ३६५ भन्दा बढी प्रकारका मध्ये दर्जनौ ब्याक्टेरियाले गिजाको रोग निम्त्याउँछ । अस्वस्थ गिजामा पनि यस्ता ब्याक्टेरियाहरु हुन्छन् । गिजामा भएको रक्तनलीहरुमार्फत् ब्याक्टेरियाहरु शरीरभरी पुग्दछन् । केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाई क्लट बनाउँछन् । उक्त क्लटले सानो भए विभिन्न अंगहरुलाई रगत पुर्‍याउनमा कमी र क्लट ठूलो भए आघात नै बनाउनसक्छ । यस्तो घटना मुटुको नलीमा भए हृदयाघात, दिमागको रक्तनलीमा भए स्ट्रोक र पक्षघात, मिर्गौलाका रक्तनलीमा भए मिर्गौला फेल हुनसक्छ । जन्मदादेखि नै मुटुको समस्या भएका, बाथरोग भएका, प्रोस्थेटिक भल्भ भएका बिरामीहरुले झनै गिजा तथा मुखको सरसफाई र दन्त उपचारमा ध्यान नदिँदा सब एकयुट ब्याक्टेरियल इन्डोकार्डाइटाइटिस रोग निम्तिन सक्छ ।

समयको महत्व
समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोग तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मुत्युवरण गर्नुपर्ने हुनसक्छ । जति समय ढिलो भयो, त्यतिनै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महंगो पनि पर्न जान्छ । जस्तै, दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र श्वास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मर्न सकिन्छ । सेलुलाइटीस, पिनास र दिमागमा क्याभरनस साईनस थोरम्बोसीससम्म हुनसक्छ । त्यसैगरी गिजा तथा मुखसम्बन्धि रोग भएका व्यक्तिमा अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वास-प्रश्वास सम्बन्धि रोग- निमोनिया, दम, मुटुसम्बन्धि रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, ह्रदयाघात, मष्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।

गर्भवती महिलामा दाँत तथा मुखको समस्या भए, समयभन्दा पहिलेनै बच्चा जन्मने र शारीरीक तथा मानसिक रूपले कमजोर बच्चाको जन्म हुने सम्भावना रहन्छ । धारिला, नमिलेका दाँत, लामोे समयसम्मको घाउखटिरा, रोग, फोेहर साथै सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर पनि हुनेगर्दछ ।

अस्ट्रेलियामा गरिएको एक खोजमा दाँत र गिजाको स्वास्थ्यमा ध्यान नदिँदा ढिलो गर्भाधारण हुने, बाँझोपना लगायत अनेकन प्रजनन स्वास्थ्यमा असर परेको निष्कर्ष प्रस्तुत गरिएको थियो । गिजामा डेण्टल फ्लस नगर्दा गर्भधारणमा २ महिना ढिलो भएको थियो । हुन त यसअघि नै पेरियोडेन्टल रोग र मुटु रोग, टाईप २ मधुमेह, गर्भपतन- मिसक्यारियज र पुरुषमा शुक्रकिटको गुणस्तरमा कमजोरसँग सम्बन्धित रहेको तथ्य आइसकेका छन् ।

विश्वमै सवैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालिन प्रकृतिका रोगहरुमा मुखमा पाइने रोगहरु पर्दछन् । यी रोगहरुले पैदा गर्ने दुखाई, असहजता, कुरुपपना र कहिले काँहि हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आर्थिक भार थप्दछ । नेपाल यसमा अछुतो छैन । हाम्रो जस्तो निम्न आर्थिक हैसियत भएको देशका लागि यी रोकथाम गर्न सकिने प्रकृतिका रोगहरुले थप आर्थिक भार पार्दछन् । तसर्थ, मानव जीवनलाई सुखदायी बनाउन व्यक्ति, समाज र राज्यलाई आर्थिक बोझबाट बचाई गुणस्तरीय मानव जीवन बनाउनलाई समुदाय र राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले विश्व दन्त चिकित्सा महासंघको आह्वानमा सन् २०१३ बाट विश्व मुख स्वास्थ्य दिवस प्रत्येक वर्ष मार्च २० मा विश्वभरी मनाउँदै आइरहेका छौँ ।

दिवसको मूल उद्देश्य कार्यशाला, गोष्ठी, सभा, समारोह, प्रशिक्षण, पैरवी गरी मुख स्वास्थ्यका बारेमा जनचेतना बढाउने, नीति निर्माताहरुलाई सजग गराउने हो । दुर्भाग्यवश कोभिड-१९ को महामारीले यसपालीको मुख स्वास्थ्य दिवस औपचारिकरुपमा नीति निर्माताहरुका बीच छलफल गरी मनाईदैछ । मुख स्वास्थ्य सम्बन्धी अधिकांश रोगहरु रोकथाम गर्न सकिने खालका भएकोले यस क्षेत्रमा आवश्यक जनशक्ति निर्माण, परिचालन र नीति बनाई यी समस्यासँग जुध्न सकिने भएकाले यसमा भूमिका खेल्न सम्बन्धित पक्षसँग हार्दिक अपिल छ । कच्चा वैद्यगिरी वा कुट चिकित्सालाई कसरी निमुर्ल पार्न सकिन्छ भनेर सबै पक्ष मिलेर अगाडि बढ्न जरुरी छ ।

कोरोना भाईरसको विश्वव्यापी महामारी फैलिरहेको बेला उपचारको र रोग सर्ने प्रवृत्तिका हिसाबले दन्तचिकित्सक, स्वास्थ्यकर्मी निकै जोखिममा भएकाले दन्तचिकित्सक, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराईदिन अनुरोध छ । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि पूर्व सर्तकता अपनाउन अपिल गरिन्छ ।

रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्ननै नदिनु अतिनै उत्तम तथा उचित हुन्छ । त्यसकारण आत्महत्या गर्न सक्नेसम्मको दुखाईबाट मुक्त रहन, महंगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न, साथै औषधीको आवश्यकता कम गर्न लगायत दाँत तथा मुखका अङ्ग-प्रत्यङ्गलाई अङ्गभङ्ग हुनबाट जोगाउन निम्न कुरामा ध्यान पुर्‍याउनुपर्दछ ।

दाँत एवं मुखको सरसफाई

खाना खानु अघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाईसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ र गर्नु पर्दछ । राती सुत्नुअघि ब्रस गरौं र बिहान उठ्नासाथ कुल्ला गरी खाना वा नास्ता खाएपछि ब्रस गरी बाहिर निक्लने बानी बसालौं । त्यसैगरी दुई दाँत बीचको फोहर निकाल्न डेण्टल फ्लस रातीको ब्रस गर्नभन्दा पहिले कम्तीमा एकपटक डेण्टल फ्लस प्रयोग गरौं ।

खानेकुरामा नियन्त्रण
टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अङ्कुराउँदै गरेका अन्नबाली, मूला, गाँजर, बन्दागोबी, सकरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं । रेशादार, ताजा फलफूल, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ ।

नियमित रूपमा दन्त परीक्षण
दाँत दुख्न गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन, दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ । त्यसकारण प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ । दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ । बालक जन्मेदेखि दन्त परीक्षण गराउन शुरु गर्नुपर्दछ र त्यसपछि नियमितरुपमा दन्त परीक्षण गराउने बानी बसाल्नु पर्दछ । के शिक्षित के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिब के धनी सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिंदैन ।

समयमै सचेत भई १४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाईमा दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ र यदि रोग लागिसकेमा उपचार गराउँदा विज्ञापनको पछि मात्र नदौडी उपचार गर्न चिकित्सक, सेवाप्रदायक सही भए नभएको, प्रयोग हुने वा गरिने सामान, उपकरण र पदार्थहरु पूर्ण निर्मलीकरण र शुद्धिकरण भए नभएकोमा राम्रोसँग ध्यान दिनुका साथै सोधपुछ पनि गर्नुपर्दछ । अन्यथा रोगको उपचार गर्न अस्पताल वा चिकित्सक कहाँ गएकोमा फर्कदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै हेपाटाइटिस एचआइभी जस्ता सरुवा, संक्रामक र भयानक रोगहरु बोकेर घर फर्किन सकिन्छ ।

‘विश्व मुख स्वास्थ्य दिवश २०२०’ को औपचारिक कार्यक्रम स्थगित भएको छ । माननीय उप प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलज्यूको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती को मिति २०७६ चैत्र ०५ गते भएको निर्णयको बुँदा नं. ३ को निर्देशन अनुसार २५ जना भन्दा बढी भेला भई हुने सार्वजनिक कार्यक्रममा रोक लगाईएको हुुँदा पूर्व निर्धारित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा बिहान ८ः४५ मा हुने भनिएको मुख स्वास्थ्य दिवसको औपचारिक कार्यक्रम नहुने जानकारी पनि गराईएको छ । अन्त्यमा, ‘मुख स्वास्थ्यका लागि जुटौं ‘भन्ने नाराका साथ मनाउन थालिएको मुख स्वास्थ्य दिवसमा मुख स्वास्थ्यमा संलग्न सबै सरोकारहरुलाई एक जुट हुन हामी अनुरोध गर्दछौं ।

(हरेक वर्ष मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको सन्दर्भमा वीर अस्पताल, आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य उपचारात्मक महाशाखा, स्वास्थ्य सेवा विभाग सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले तयार पारेको सामग्रीको सम्पादित अंश)

The post मुखको हेरचाहः ‘जब पर्‍यो राती तब बुढी ताती’ नगरौं appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles