गाउँघरतिर पाइने सिस्नो छुँदा पोल्छ । यसरी पोलेर पीडा दिने सिस्नो खानाको रुपमा भने शितल दिने जडीबुटी जस्तै महत्वपूर्ण छ ।
सिस्नो एउटा यस्तो बिरुवा हो जसमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।
औषधिको खोजीमा भौंतारिने गाउँघरतिर यसलाई खाने अभ्यास भने त्यति धेरै छैन । बुढापाकाले दुःख पाउँदा सिस्नो र खोले खाएको कथा सुनाउँछन् ।
खान जान्ने हो भने सिस्नोबाट शरीरका लागि धेरै पौष्टिक तत्वहरु पाइन्छन् । यसमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
यसले कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सघाउँछ ।
पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दै अपचको समस्या समाधान गर्न पनि सिस्नोले सघाउँछ ।
हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ भने यसलाई नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ ।
सिस्नो कसरी खाने ?
सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।
The post पोल्ने सिस्नोका शितल फाइदाहरु appeared first on Sajha Post.