काठमाडौं, १७ माघ । निमोनिया गराउने नोवल कोरोना भाइरसको प्रकोप विश्वव्यापी फैलिइरहेसँगै त्रास र आतंक बढिरहेको छ । शुक्रबारसम्म यो रोग चीनको सीमा पार गरेर संसारका दुई दर्जनभन्दा बढी देशमा पुग्न सफल भइसकेको छ भने हजारौं मानिसहरु संक्रमित भइरहेका छन् ।
विहीबार साँझसम्म संसारभर १७० जना मानिसहरुको कोरोना संक्रमणका कारण निधन भइसकेको छ । यसको त्रास संसारभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणाको आवश्यकताबारे परामर्श जारी राखेको छ । एक विज्ञ टोलीले यसबारे सिफारिस गर्न गृहकार्य गरिरहेको छ ।
यस्तो अवस्थामा नेपालमा पनि यसको त्रास फैलनु अस्वभाविक होइन । तर, यसको सबैभन्दा बढी त्रास भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा फैलिएको छ । यसको कारण हो प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था ।
कोरोनाको हल्ला चलेसँगै प्रम ओलीको स्वास्थ्य सुरक्षा पनि बढाइएको छ । देशको कार्यकारी प्रमुख भएपछि व्यस्तता र भेटघाट बाक्लो हुनु स्वभाविकै हो । तर, प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले भने प्रधानमन्त्रीलाई भेटघाट घटाउन र मानिसहरुको सम्पर्कमा नजान दबाव दिइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
मंगलबार संसदमा ओलीले लामो सम्बोधन गरेनन् । उनी लामो समय बैठकमा बसेनन् पनि । पार्टी बैठकमा २ घण्टा लामो मन्तव्य दिए । आफ्नो मन्तव्य सक्नासाथ उनी बैठकस्थलबाट बाहिरिए । पार्टी अध्यक्षले केन्द्रीय समितिको बैठक किन छाडेको भनेर आलोचना पनि भए । प्रश्न पनि उठाइयो ।
प्रधानमन्त्री ओलीले केन्द्रीय समितिको बैठकमै समय दिन नसक्नु कमजोर स्वास्थ्य अवस्थासँगै कोरोना भाइरसको आतंक पनि भएको बालुवाटार स्रोतको दावी छ ।
बैठकमा लामो समय नबिताउन प्रधानमन्त्रीलाई उनको उपचारमा संलग्न चिकित्सकहरुले सचेत गराएको बताइएको छ । स्मरणीय छ, यसअघि पनि मौसमी रुघाखोकीका बेला ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता बढाउने गरिएको थियो ।
नयाँ भाइरसको विस्तारलाई हेरेर अहिले हाम्रो प्रधानमन्त्री मात्र नभई भारत, अमेरिका, चीनलगायतका राष्ट्र र सरकार प्रमुखको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
उनी भन्छन्, ‘हाम्रा प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले थप स्वास्थ्य सुरक्षा चाहिन्छ ।’
प्रम ओलीलाई १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएपछि बनेको कमजोर स्वास्थ्य अवस्थाका कारण रुघाखोकीलगायतका विभिन्न खाले मौसमी संक्रमणबाट बचाउन चिकित्सकले सतर्कता अपनाउँदै आएका छन् ।
ओलीको नियमित डायलसिस पनि गरिँदै आएको छ । किनकी करिब सात महिना अघिदेखि उनको मिर्गौलामा पुनः समस्या देखिएपछि उनी निरन्तर उपचारमा छन् ।
प्रधानमन्त्री ओलीलाई मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) र निमोनियाविरुद्धको खोप लगाएर उपचार गरिँदै आइएको छ । कोरोना भाइरसको प्रकोप देखिन अघि पनि प्रधानमन्त्रीलाई भेट्न जानेले हातमा स्यानिटाइजर लगाउनै पर्ने प्रावधान राखिएको थियो । पछिल्लो समय यो प्रक्रियालाई कडाइपूर्वक लागू गर्न थालिएको छ ।
बैठकमा रुघाखोकी र अन्य बिरामी भएका मानिसहरु हुनसक्छन् । सार्वजनिक कार्यक्रममा गएपछि प्रधानमन्त्री तथा शक्तिशाली पार्टी अध्यक्षलाई भेट्न खोज्ने मानिसहरुको भिड भइहाल्छ । बालुवाटार स्रोत भन्छ, ‘रुघाखोकी लागेकी सुरक्षाकर्मीलाई त आउन दिइएको छैन, बैठकमा जाने त कुरै भएन ।’
प्रधानमन्त्रीलाई अत्यावश्यक भेटघाटको क्रममा पनि एक मिटरको दूरी कायम गर्न सल्लाह दिइएको बताइएको छ । नोवल कोरोना भाइरसको सम्पर्कमा आएका व्यक्तिहरूमा इन्क्युबेसन पिरियड (शरीरमा कीटाणु प्रवेश गरेपछि लक्षण देखिन लाग्ने समय) ले गर्दासमेत तत्काल लक्षण नदेखिएको हुन सक्ने भएकोले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भीडभाडबाट टाढा राखिएको बताइएको छ ।
The post कोरोना भाइरसको आतंक सबैभन्दा बढी बालुवाटारमा ! appeared first on Sajha Post.