Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा सरुवा रोगको जोखिम उच्च

$
0
0

काठमाडौं, १७ माघ । दोलखाका कला लामालाई सामान्य रुघाखोकी लाग्दा पनि के भयो र अरु कसैलाई पनि सर्छ कि भन्ने डर हुन्छ । कुनै सरुवा रोग लागी हालेमा काठमाडौंका सविना शर्मासँग टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल जाने विकल्प त छ । तर, अस्पतालमा पर्याप्त वेड र फरक फरक रोगको छुट्टै वार्ड नुहँदा रोग सर्छ कि भन्ने डर लाग्छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ८ हजार ३ सय १४ स्वास्थ्य संस्था छन् । त्यसमा सरुवा रोगको उपचारका लागि टेकुस्थित एक मात्रै केन्द्रीय अस्पताल काठमाडौँमा छ ।

अन्य क्षेत्रको हकमा समयमै सरुवा रोग पत्ता लगाउन समस्या हुने गरेको बताउछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका महानिर्देशक डा.वासुदेव पाण्डे । अवस्था राम्रो नभएपनि भएका श्रोत साधनलाई उपयोग गरेर सेवा दिइरहेको उनको भनाइ छ । नेपालको संविधानले सबै नेपाली नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर यो कागज र सिद्धान्तमा मात्र सीमित छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख डा.विकास देवकोटाका अनुसार अहिले तत्कालै सरुवा रोग अस्पताल थप्ने विषयमा सरकारको कुनैपनि योजना छैन । राष्ट्रिय स्वास्थ्य नीति, २०७१ ले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ गराउने र नागरिकको सर्वव्यापी पहुँचको प्रतिवद्धता जनाएको छ । त्यसअनुसारका योजना भने बनीसकेका छैनन् । सरुवारोग सम्बन्धी छुट्टै संरचना बनाउन ढिला भइसकेको पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवको भनाइ छ ।

यो वर्षको सुरुवातमा मात्रै डेंगुका कारण नेपालमा ७ जना, हुम्लामा गएको डेढ महिनामा मौसमी रुघाखोकीका कारण १४ जना, हुम्लाकै ताजाकोटमा गएको चैतामा रुघाखोकीका कारण ९ जना र स्क्रब टाइफसका कारण मुलुकभरमा गरी १९ जनाको मृत्यु भएको थियो । यस्ता प्रकारका सरुवा रोगको जोखिम टार्न र समयमै रोकथाम गर्न सरकारले गम्भीरताका साथ सोचेको छैन ।

खुला सीमाना, कमजोर जाँचका कारण नेपाल सरुवा रोगको उच्च जोखिममा छ । तर कुनै सरुवा रोगको प्रकोप फैलिएमा कसरी उपचार गर्ने ? भन्नेमा अहिलेसम्म न बृहत रूपमा छलफल भएको छ न त सरकारले यसबारेमा दिर्घकालिन सोंच बनाएको छ । सरकारले सरुवा रोग अस्पतालको निर्माण र व्यवस्थापनमा पनि कुनै योजना बनाएको छैन ।

The post नेपालमा सरुवा रोगको जोखिम उच्च appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles