बाँझोपनाको त्रास नहुने मानिस कमै होलान् । महिला र पुरुष दुबैलाई सन्तान जन्माउन नसकिने हो कि भन्ने चिन्ताले सताएको हुन्छ ।
तर कतिपयलाई थाहा नहुन सक्छ- आफ्नै कारण निसन्तान हुने कुरा । अर्थात् हाम्रो खानपान, आनीबानी र जीवन शैलीले समेत सन्तान उत्पादन गर्न सक्ने क्षमतालाई प्रभावित गर्छ ।
खराब खानपान र रहनसहनले महिला र पुरुषको प्रजनन क्षमता कमजोर हुन्छ । कतिपय पुरुषहरु आफ्नै बानी र जीवन शैलीका कारण शुक्रकीटको मात्रा कम हुँदै जाने र अन्त्यमा बाँझोपनाको शिकार हुने गर्छन् ।
पुरुषका विभिन्न खराब आदतले शुक्रकीट उत्पादन क्षमता ह्रास हुने कुरा विभिन्न अध्ययनले समेत पुष्टि गरिसकेको छ । प्रजनन शक्ति कमजोर हुनु पछाडि विभिन्न कारण पनि हुन्छन् । तर विशेषगरी निम्न ७ वटा आनीबानीले शुक्रकीट उत्पादन गर्ने पुरुषको क्षमता कमजोर हुने गर्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छः
१. कसेर (टाइट) कपडा लगाउँदा
कपडा लगाउने बानीले समेत प्रजनन शक्तिलाई प्रभावित गरेको हुन्छ भन्दा मजाक गरे जस्तो लाग्ला । तर कपडा लगाउने शैलीले प्रजनन शक्तिमाथि असर गरेको हुन्छ भनेर प्रमाणित भइसकेको छ । जिन्स वा अन्डरवयर लगाउँदा सकेसम्म खुकुलो पाराले लगाउने हो भने प्रजनन शक्ति र शुक्रकीट उत्पादन गर्ने क्षमता बढ्छ ।
त्यस्तै जिन्स वा अन्डरवयर लगाउँदा खुकुलो तरिकाले लगाउनुपर्छ । कसेर वा टाइट पाराले जिन्स र अन्डरवयर लगाउनु हुन्न । टाइट कपडाले प्रजनन क्षमता र शुक्रकीट उत्पादन क्षमतामाथि असर गर्छ । किनभने टाइट कपडा लगाउँदा शरीरभित्रको तापक्रम बाहिर आउन पाउँदैन । शरीरको तापक्रम भित्रै रहँदा यसको असर टेस्टिकल्स (अण्डकोष) माथि पर्छ ।
२.लामो समय कुर्सीमा बसेर काम गर्दा
पुरुषको प्रजनन क्षमतामा कामको प्रकृतिले समेत प्रभाव पारेको हुन्छ । केही कामहरु यस्ता हुन्छन् जसका कारण तनाव बढ्छ, हामीहरु त्यत्तिकै हाइपर टेन्सनको महसुस गर्छौं । यस खालको कामले पुरुषको शुक्रकीट उत्पादन क्षमतामाथि गम्भीर असर पार्छ । शारीरिक रुपमा बढी सक्रिय हुने कामले प्रजनन क्षमतालाई सकरात्मक रुपमा प्रभावित गरेको हुन्छ । तर मानसिक रुपमा सक्रिय हुनुपर्ने वा लामो समय कुर्सीमा बस्नु पर्ने कामले भने नकरात्मक असर गर्छ ।
३. निष्क्रिय यौन जीवन
प्रजनन शक्ति र यौन क्रियाकलापबीच सम्बन्ध हुन्छ । यदि तपाईंको यौन जीवन स्वस्थ र सक्रिय छ भने प्रजजन क्षमता पनि बढ्छ, शुक्रकीटको मात्रा बढ्छ । जति धेरै यौन क्रियाकलापमा संलग्न हुन सक्यो त्यति नै धेरै शुक्रकीट उत्पादन हुन्छ । त्यसैले बाँझोपनबाट बच्नका लागि आफ्नो पार्टनरसँग बेडमा सक्रिय र रोमान्टिक हुनुहोस् । निष्क्रिय हुने बानीलाई आजैबाट त्याग्नुहोस् ।
४. तयारी पोषण वा पोषणयुक्त चक्की/खानेकुरा सेवन गर्दा
‘स्वस्थ र तन्दुरुस्त’ रहने सबैको चाहना हुन्छ । स्वस्थ र तन्दुरुस्त रहनका लागि हामीले नियमित व्यायाम गर्ने, जिम जाने वा योगा गर्ने गर्छौं । यो निकै राम्रो बानी पनि हो । व्यायाम र जिम धेरै गर्ने मानिसलाई भोजन र पौष्टिक तत्व पनि धेरै चाहिन्छ । यही भएर हामीले आवश्यक भोजन र पौष्टिक तत्वका लागि बजारबाट तयारी पोषण तत्व (सप्लिमेन्ट) किनेर खाने गर्छौं । कहिलेकाहीं त भिटामिनका चक्की नै खाने गर्छौं ।
तर कुनै-कुनै सप्लिमेन्ट प्रजनन शक्तिका लागि हानिकारक मानिन्छन् । हानिकारक सप्लिमेन्टले टेस्टोस्टेरोनको मात्रा कम गर्छ । जसका कारण तपाईंको शुक्रकीटको संख्या र गुण दुबै ह्रास हुन्छ ।
५. भिटामिन ‘सी’युक्त खानेकुरा सेवन नगर्दा
हामीले सेवन गर्ने भोजनमा पर्याप्त मात्रामा भिटामिन हुनु आवश्यक छ । भिटामिनले हाम्रो प्रजनन क्षमतालाई मजबुत बनाउँछ । त्यसमा पनि भिटामिन ‘सी’युक्त भोजन त नभइ हुँदैन । भिटामिन ‘सी’ले रोग प्रतिरोधी क्षमता बढाउँछ । त्यस्तै यसबाट पुरुषको शुक्रकीट उत्पादन क्षमता समेत वृद्धि हुने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । तर्सर्थ, बाँझोपनबाट बच्नका लागि भिटामिन ‘सी’युक्त तरकारी र फलफूल सेवन गर्नुपर्छ ।
६. धुम्रपान
चुरोट र सूर्ती सेवन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । धुम्रपान र सूर्ती सेवनले फोक्सो, घाँटीको क्यान्सर हुने जोखिम बढ्छ । त्यस्तै चुरोट सेवनबाट प्रजनन क्षमतमा समेत कमि आउने गर्छ । चुरोट सेवन गर्ने पुरुषमा शुक्रकीट कम हुँदै जाने कुरा विभिन्न अध्ययनले पुष्टि गरेको छ । चुरोटमा हुने कार्बन मोनोअक्साइडले फोक्सोको कान्सर हुन्छ । यसले शुक्रकीटलाई समेत हानि गर्छ । त्यसैले आजैबाट धुम्रपान छोड्नु होला ।
७. मध्यपान
मानिसको अर्को खराब बानी भनेको रक्सी पिउने हो । रक्सीका कारण हाम्रो पारिवारिक र सामाजिक अवस्था खस्कँदै जान्छ । रक्सी सेवन स्वास्थ्यका लागि समेत उत्तिकै घातक छ । मध्यपानका कारण पेट, मुटु तथा कलेजोसम्बन्धी रोगहरु लाग्छन् । त्यस्तै रक्सी सेवनले हाम्रो प्रजनन क्षमतामा समेत नकरात्मक असर गर्छ । रक्सी सेवन गर्ने व्यक्तिमा विस्तारै शुक्रकीट कम हुन्छ । साथै शुक्रकीटको गुणस्तरलाई समेत रक्सीले असर गर्छ । त्यसैले आजैबाट रक्सी सेवन गरी प्रजनन शक्ति बढाउनुहोस्, आफ्नो शुक्रकीटको संख्या र गुण दुबै वृद्धि गर्नुहोस् ।
The post जानी राखौं- ७ बानी जसले हामीलाई ‘बाँझो’ बनाउन सक्छन् appeared first on Sajha Post.