काठमाडौं, २५ मंसिर । जापानीहरुको औसत आयु विश्वमै निकै उच्च छ । जापानमा पुरुषको औसत आयु ८१.२५ र महिलाको औसत आयु ८७.३२ छ ।
जापानको ओकिनावा टापुलाई ‘अमरहरुको टापु’ पनि भन्ने गरिन्छ । सय वर्षभन्दा बढी बाँच्ने वृद्धवृद्धाको संख्या ओकिनावामा जापानका अन्य स्थानमा भन्दा बढी छ । ओकिनावास्थित कितानाकागुसुकुमा दीर्घायू जीवन बाचिरहेका महिलाहरुको संख्या निकै धेरै छ ।
ओकिनावामा पर्याप्त मात्रामा चिकित्सक छैनन् । तर यही टापुमा सबैभन्दा धेरै जेष्ठ नागरिक छन् । यसमध्ये अधिकांश सय वर्ष नाघेका जेष्ठ नागरिक छन्। परिवारका अन्य सदस्यले जेष्ठ नागरिकलाई मूल्यवान सदस्य ठान्छन् ।
हालै सय वर्षको उमेर पार गरेकी नोबु हिगा पनि कितानाकागुसुकुमै बस्छिन् । उनी ६ जना सन्तानकी आमा हुन् । ६ जना सन्तानसँगै बस्न पाउँदा आफू निकै भाग्यमानी भएको हिगा बताउँछिन् ।
‘मेरा ६ जना सन्तान छन्, यही नै मेरो जीवनको सबैभन्दा खुसीको कुरा हो’, हिगाले भनिन्, ‘म अहिले स्वस्थ छु ।’
साथीहरुसँग भेटेर कुरा गर्न निकै रमाइलो मान्ने हिगा बाहिर हिडडुल समेत गर्छिन् ।
‘यहाँ मजस्तै हजुरआामाहरु धेरै छन् । हामी सबै जम्मा भएर पुराना कथा सुनाउँछौं’, उनले भनिन् । हिगालाई सबैभन्दा मन पर्ने खानेकुरा मासु हो । तर उनले बोसो भएको मासु भने पटक्कै पराउँदिनन् ।
हात्सुको कियान हिगाकी साथी हुन् । कियानको उमेर हाल ९७ वर्ष पुगेको छ । उनलाई आफू यति लामो समयसम्म बाच्छु जस्तो कहिल्यै लागेको थिएन । नियमित व्यायाम गरेकाले आफू लामो समय बाँचेको उनले बताइन् ।
त्यस्तै ८४ वर्षीया युकिको किना पनि कितानाकागुसुककी बास्दिन्दा हुन् । लामो समयसम्म बाँच्दा पनि आफूले कुनै औषधि खान नपरेकोमा उनलाई गर्व लाग्छ । घरमा पाहुना आउँदा उनी आफै खाना बनाउन तम्सिन्छिन् । उनलाई पनि साथीहरु भेटेर कुरा गर्न निकै मन पर्छ । स्वस्थ रहनका लागि साथीहरुसँगै नाच्ने समेत गर्छिन् ।
ओकिनावाका जेष्ठ नागरिकहरु ‘माओइ’ नामक सामूहिक परोपकारी समूहका कारण समेत आफूहरु लामो समयसम्म बाँच्न सकेको बताउँछन् । यो समूहले अप्ठ्यारोमा परेकालाई सहयोग गर्छ । साथै समूहले जेष्ठ नागरिकलाई सँगै खाना खुवाउने गर्छ ।
डा. माकोतो सुजुकीले विगत ४० वर्षदेखि सय वर्ष नाघेका १ हजार भन्दा बढी जेष्ठ नागरिकको मेडिकल, पोषण तथा सामाजिक अवस्थाबारे तथ्याङ्क संकलन गर्दै आएका छन् । ४ वटा कारणले ओकिनावामा मानिसहरु लामो समयसम्म बाच्न सफल भएको उनको विश्लेषण छ ।
‘दीर्घजिवी हुनका लागि ४ वटा कुराले भूमिका खेलेको हुन्छ’, डा. सुजुकीले भने, ‘पोषणयुक्त खाना, शारीरिक क्रियाकलाप, स्वसहयोग र आपसी सहयोगका कारण ओकिनावामा मानिसहरु धेरै बाचेका हुन् ।’
साथै आध्यात्मिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेको डा. सुजुकी बताउँछन् । ‘इकिगाइ’ नामक जापानी परम्पराले मानिसलाई स्वस्थ र आशावादी रहन सिकाउने भएकाले समेत ओकानावाका मानिसहरु दीर्घजीवी बनेको उनको तर्क छ ।
‘इकिगाइ हरेक जापानीको आध्यात्मिक उद्देश्य हो, यसलाई निरन्तरता दिँदा हामी दीर्घजीवी हुन्छौं’, उनले भने, ‘यसलाई छोड्यौं भने हामी लामो समय बाँच्दैनौं ।’ इकिगाइले मानिसलाई आशावादी र सकरात्मक बनाउने उनको भनाइ छ ।
स्वस्थ खाना, शारीरिक व्यायाम, सामाजिक संलग्नता र सकरात्मक सोंचबाहे निम्न कारणले समेत जापानीहरु लामो समय बाँच्ने गरेको विभिन्न अध्ययनले देखाएको छः
१. जापानीहरु अत्याधिक मात्रामा तरकारी र फलफूल सेवन गर्छन् ।
२. जापानीहरुले चिया धेरै पिउँछन् ।
३. ताजा खानेकुरा खान्छन् ।
४. जापानीहरु हिडडुल बढी गर्छन् र सकेसम्म धेरै उभिन्छन् ।
५. जापानको स्वास्थ्य सेवा सुलभ, सर्वव्यापी र गुणस्तरीय छ ।
६. सरसफाइमा ध्यान दिन्छन् ।
(एजेन्सीको सहयोगमा)
The post जापानीहरु सय वर्षसम्म बाँच्नुको रहस्यः यी ४ सुत्र जानी राखौं appeared first on Sajha Post.