हालैको एउटा अध्ययनले महिलाले बाल्यकालमा भोग्नुपर्ने तनावका कारण उनीहरुको शरीरको तौल बढ्दै जाने देखाएको छ । अमेरिकामा गरिएको उक्त अध्ययन अनुसार यदि महिला सानै हुँदा विभिन्न खाले तीता अनुभवहरु भोग्नुपर्यो भने पछि उनीहरुको मोटोपना बढ्ने देखिएको छ । तर, पुरुषमा त्यस्ता अनुभवहरुको असर नपर्ने कुरा अध्ययनमा उल्लेख गरिएको छ ।
वयस्क महिला किन दिनदिनै मोटाउँदै जान्छन्, भन्ने कुरा बुझ्न यो अध्ययन निकै उपयोगी हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका सह–प्राध्यापक हुई लिउले भने, ‘अनुसन्धानबाट प्राप्त निश्कर्षले उमेर बढ्दै गएपछि हुने तनावभन्दा बाल्यकालको तनावले पछिसम्म मोटोपन बढाउन महत्वपूर्ण भूमिका खेल्छ र यस्तो प्रकृया महिला र पुरुषबीच निकै भिन्न छ, भन्ने हाम्रो बुझाइलाई फराकिलो पारेको छ ।’
यो अध्ययनका क्रममा अमेरिकनस् चेन्जिङस् लाइफ्सको तथ्याङ्कलाई प्रयोग गरिएको थियो । उक्त तथ्याङ्कमा २२५९ महिला र १३५८ पुरुषसँग अन्तर्वाता लिइएको थियो । बाल्यकालको तनावलाई १६ वर्षभन्दा मुनि आइलाग्ने विभिन्न समस्याहरुको आधारमा मापन गरिएको थियो । यस्ता समस्याहरुमा आर्थिक अभाव, बाबु–आमाको सम्बन्ध विच्छेद, बाबु वा आमा मध्य एउटा मानसिक रोगबाट ग्रस्त, आफ्नो बाबु को हुन् भन्ने कुरा थाहा नभएको अवस्थालाई राखिएको थियो । वयस्क उमेरमा हुने तनावको कारणमा जागिर गुमाउनु, प्रियजनको मृत्यु तथा अन्य पारिवारिक समस्या समावेश गरिएको थियो ।
यदि महिलाले आफ्नो बाल्यकालमा बढी समस्या व्यहोरेको अवस्थामा मोटोपन बढी देखिने प्राध्यापक लिउले बताएको डेलिमेलमा खबर छ । उनले भने, ‘शारीरिक परिवर्तन जीवनभर चलिरहने प्रकृया हो र शरीरको स्वरुपमा दीर्घकालीनरुपले बढिरहने मोटोपन निम्त्याउने कारणमा बाल्यकालको महत्व बढी हुन्छ ।’
तनावसँग लड्न महिलाहरुले बढी खाने गर्छन्, तर पुरुषहरुले खानाको साटो रक्सी खाने गर्छन भन्ने कुरा पनि उक्त अध्ययनले देखाएको छ । साथै बाल्यकालको तनावका कारण आइपर्ने मोटोपनसँग लड्न महिलाहरुको लैंगिक तथा सामाजिक परिवेशलाई बुझ्नुपर्ने लिउले बताए । यस्तो परिवेशको बोधले पछि देखिने मोटोपनबाट छुटकारा पाउन प्रभावकारी उपचारात्मक कार्यक्रम तयार पार्ने उनको बुझाइ छ ।
The post यस्तो पो रहेछ महिलाहरु दिनप्रतिदिन मोटाउने कारण ! appeared first on Sajha Post.