बाल्यकालदेखि नै हामीलाई सफल हुनुछ भने बिहान छिट्टै उठ भनिन्छ ।
बिहान उठ्दा काम धेरै हुन्छ । सेलिब्रेटीहरु र ठूला ठूला कम्पनीका प्रमुखहरु पनि यस्तै गर्छन् ।
यस्तो पनि भनिन्छ कि बिहान चाँडै उठ्दा स्वास्थ्य पनि राम्रो हुन्छ । तपाईं खुसी रहनुहुन्छ र जीवनमाथि तपाईंको नियन्त्रण रहन्छ ।
यी राम्रा कुराहरु त होलान् तर, बिहान उठ्दासाथ जादुमयी तरिकाले केही हुँदैनन् । न यसरी समय व्यवस्थापनको समस्या समाधान नै हुन्छ । कतिपय मानिसलाई त यसको उल्टो असर पनि पर्न सक्छ ।
असल त त्यस्तो जीवनशैली रोज्दा हुन्छ जुन तपाईंको अनुकूल हुन्छ । यहाँ बीबीसी हिन्दीका लागि ब्रायन लुफकिनले तयार पारेको केही सर्वकालीक टिप्स प्रस्तुत गरिएको छ, जसले तपाईंको लागि बिहान उठ्ने समय तय गर्नको लागि सहयोग गर्नेछन् ।
छिटो उठ्नुको फाइदा के हुन् ?
यसका कयौं फाइदा हुन सक्छन्, कम से कम उनीहरुको नजरमा जो बिहान चाँढै उठ्छन् ।
कयौं मानिस भन्छन् कि बिहान ध्यान भड्काउने चिजहरु कम हुन्छन् । घरमा बच्चा र अरु मानिसहरु पनि सुतिरहेका हुन्छन् । त्यतिबेला सन्देश र इमेल पनि कम नै आउँछन् ।
एप्पलका सीईओ टिम कुक भन्ने गर्दथे, ‘म बिहानको पौन चार बजे जग उठ्छु र क्यालिफोर्नियामा बसेर पनि पूर्वी तटमा रहने आफ्ना साथीबाट पहिलो इमेल चेक गर्न सुरु गर्दछु ।’
क्यालिफोर्नियामा जब बिहानको ३ः४५ बज्छ तब अमेरिकाको पूर्वी तटमा ६ः४५ बजेको हुन्छ ।
ओप्रा विनफ्रे हरेक दिन बिहान ६ बजेर २ मिनेट जाँदा ब्युँझिन्छिन् । उनी ध्यान र व्यायाम गरेपछि बिहान ९ बजेबाट काम सुरु गर्छिन् ।
हलिउड स्टार मार्क वोलबर्ग सबैभन्दा बढी हैरान पार्छन् । उनी त रातिको साढे दुई बजे नै ब्युँझन्छन् । कसरत गर्छन् । गल्फ खेल्छन, प्रार्थना गर्छन् र माइनस १०० डिग्री तापक्रममा केही समय बिताएर नुहाउँछन् ।
केही अध्ययनले बिहान उठ्नु र सफलता पाउनु सम्बन्धित भएको पनि पाइएको छ ।
जो मानिस बिहान चाँडै उठ्छ, उसको पारम्परिक कर्पोरेट शेड्यूलसँग राम्रो तालमेल रहन्छ र ऊ सक्रिय व्यक्तिमा पर्छ ।
विद्लाय-क्याम्पसमा उसको ग्रेड राम्रो हुनसक्छ र नोकरीमा पनि उसले राम्रै तलब पाउन सक्छ ।
यदि तपाईं प्राकृतिक रुपबाटै बिहान चाँडै ब्युँझनुहुन्न भने तपाईंले केही नयाँ रणनीति तय गर्न सक्नुहुन्छ ।
बिहान कसरत गर्दा र जतिसक्छ छिटो सूर्यको किरणसँग साक्षात्कार गर्दा शरीरको मेटाबोलिज्म बढ्छ र शरीरलाई न्यानो राख्नमा मद्दत मिल्छ, जसले शरीरमा फूर्ति पनि आउँछ ।
तर अलार्म घडी वा मोबाइलको मद्दतबाट ब्युँझनु सबैको लागि फाइदाजनक नहुनसक्छ ।
यदि तपाईं बिहानको लागि उपयुक्त व्यक्ति हुनुहुन्न तर जबरजस्ती त्यस्तो बन्न प्रयास गर्नुहुन्छ भने त्यसले तपाईंलाई हानी पुर्याउन पनि सक्छ ।
के सबैले बिहान चाँडै उठ्नुपर्छ ?
त्यस्तो होइन । वास्तवमा, छिटो उठ्नाले तपाईं बढी उत्पादनशील बन्न सक्नुहुन्छ वा नबन्न पनि सक्नुहुन्छ । यसको निर्धारण तपाईंमा भएको जिनहरुले गर्छन् ।
कयौं अध्ययनबाट पत्ता लागेको छ कि केही मानिस जैविक रुपबाट बिहान धेरै सजग रहन्छ र केही मानिसमा यस्तो सतर्कता राति बढी हुन्छ । यस्तो पनि सम्भव हुन सक्छ कि तपाईंको सतर्कता र दिमागी दक्षता मध्यान्हपछि धेरै हुन्छ ।
नेचर कम्युनिकेशन्स नामक जर्नलमा हालसालै छापिएको एक अध्ययनले यसको पुष्टि गरेको छ ।
सात लाखभन्दा बढी मानिसको आंकडालाई हेरेपछि शोधकर्ताहरुले ३५० भन्दा बढी आनुवंशिक कारकलाई पहिचान गरे, जसले कोही व्यक्ति बिहान त कोही साँझमा ऊर्जावान महसुस गर्नेकुरा तय गर्छ ।
नमूनाको आकारको आधारमा यो आफ्नोतर्फको सबैभन्दा ठूलो अनुसन्धान हो । यद्यपि, यसको निष्कर्षलाई पुष्टि गर्न अरु पनि शोधको जरुरी पर्छ ।
यसरी यदि तपाईं प्राकृतिक रुपबाटै बिहानको समयमा ऊर्जावान महसुस गर्नुहुन्न र फेरिपनि बिहानै उठ्न खोज्नुहुन्छ भने हुनसक्छ यसले तपाईंलाई नोक्सान गर्छ ।
केही मानिसका लागि छिटै उठ्नका लागि निजी कारण हुनसक्छन् ।
म्यानचेस्टर युनिभर्सिटीमा वर्क साइकोलोजीका प्रोफेसर मैरिलिन डेविडसन भन्छन्, ‘छिटो उठ्ने र काम सुरु गर्नुका पछाडि अर्को कारण पनि हुनसक्छ, जस्तो कि उत्साह र नोकरीबाट सन्तुष्टि ।
साना बच्चाका आमा-बुवा र गैर-परम्परागत घन्टा काम गर्ने श्रमिकका लागि यस्ता कुराको विकल्प हुँदैन कि उनीहरुले कतिबेला आफ्नो दैनिकी सुरु गर्ने र कतिबेला उठ्ने ।
मुख्य कुरा यो हो कि केवल छिटो उठेर अफिसमा रातारात सफलता मिल्दैन ।
वास्तवमा यो त त्यही व्यक्तिमा भर पर्छ र छिटो उठ्नुको नकरात्मक नतिजा पनि निस्कन सक्छ ।
के बिहान उठ्दा नोक्सान पनि हुन्छ ?
हजुर । यदि तपाईं सामान्य अवस्थाभन्दा छिटो उठ्ने मानिस होइन र उत्पादकता बढाउनका लागि यस्तो गर्दै हुनुहुन्छ यसले तपाईंलाई हानी पनि पुर्याउन सक्छ ।
अमेरिकामा जोन हपकिन्स युनिभर्सिटीका एसोसिएट प्रोफेसर रैचेल सलास निद्रासँग सम्बन्धित विकारका विशेषज्ञ हुन् ।
उनी भन्छन्, ‘कुनै ‘ठूला मान्छे’लाई देखेर यदि तपाईं हप्तामा दुई दिन बिहान ५ बजे उठ्ने प्रयास गर्नुहुन्छ भने तपाईं आफ्नो शरीरको साथ खेलवाड गर्दै हुनुहुन्छ ।
पूरै रात राम्रोसँग सुत्नु र हरेक दिन निश्चित समयमा सुत्नु र समयै उठ्नु, यी दुवै महत्वपूर्ण कुरा हुन् ।
योभन्दा पनि बढी हानिकारक हुन्छ बिहान छिटो उठ्नको लागि निद्रामा कटौती । निद्रामा कटौतीको मतलब हो यसका नकरात्मक प्रभावलाई निम्ता दिनु ।
यसले एकाग्रता घट्न सक्छ, तौल बढ्न सक्छ, साथसाथै बेचैनी पनि बढ्छ । मुटुको रोग र उच्च रक्तचापको खतरा पनि हुन्छ ।
त्यसैले यदि छिट्टै उठ्नको लागि तपाईंले निद्रामा कटौती गर्नु पर्छ भने त्यसो नगर्नुस् ।
सलासलाई भेट्न कयौं बिरामी आउँछन्, जसले जवानी अवस्थामा निद्रा कटौती गरेका थिए । जब उनीहरुको उमेर छिप्पिँदै गयो र उनीहरुको बच्चा भए तब समस्या हुन थाल्यो ।
बेलायतका ल्यूटनमा बेडफोर्डशायर युनिभर्सिटीका प्रोफेसर गेल किनम्यान भन्छन्, ‘यदि तपाईं बिहान चाँडै उठ्नुहुन्छ भने तपाईंको काम छिट्टै सक्नुपर्ने हुन्छ । यसरी कुनै वास्तविक फाइदा हुँदैन ।’
किनम्यानलाई लाग्छ, ‘उच्च तहका व्यापारीहरु जो बिहानै ब्युँझन्छन्, अबेलासम्म अफिसमा रहन्छन् वा राति पनि इमेलमा उपलब्ध हुन्छन्, उनीहरुले आफ्नै नोक्सान गरिरहेका हुन्छन् ।
बिहान छिटो उठ्नेबारेमा गफ दिनु एकदमै नराम्रो हुनसक्छ ।
न्यूयोर्क टाइम्सले हालसालै ‘Performative Workaholism’ नामक शब्दको कल्पना गरेका छन् ।
यो उनीहरुको लागि हो जो छिट्टै उठ्ने र अबेलासम्म काम गर्ने गफ फलाक्छन् । वास्तवमा, यो असल उदाहरण होइन ।
किनम्यान भन्छन्, ‘सीईओ कर्मचारीका लागि रोल मोडल हुन्छन् । उनको यस्तो व्यवहारलाई उपयुक्तरुपमा देख्नु गैरजिम्मेवारपन हो ।’
अब तपाईंले के गर्नुपर्छ ?
विशेषज्ञहरु भन्छन् कि अभ्यास गर्नुहोस् तर कसैले भनेअनुसार होइन । तपाईं आफैंले पत्ता लगाउनुपर्छ तपाईंको लागि सबैभन्दा राम्रो के हो ? सायद, छिट्टै उठ्नु तपाईंको लागि राम्रो नहुन सक्छ ।
ध्यान दिनुहोस्, तपाईं कतिबेला थकाई महसुस गर्नुहुन्छ र कतिबेला ऊर्जावान रहनुहुन्छ ।
बिदाको बेला ध्यान दिनुपर्छ तपाईंलाई कतिबेला निद्रा आउँछ र कतिबेला तपाईंको निद्रा खुल्छ । आफ्नो दिनचर्यालाई तदनुरुप ढाल्नु उपयुक्त हुन्छ श्र
यसरी तपाईं आफ्नो प्राकृतिक ऊर्जाको अधिकांश भागलाई उपयोग गर्न सक्नुहुन्छ ।
कुरा कुनै अफिस वा समूहको हो भने विशेषज्ञको फरक सुझाव छ । सबैको बानीव्यवहार हेरेर बुझेर उनीहरुले सबैभन्दा राम्रो काम गर्न सक्नेगरी समायोजना गर्नु यस्तो अवस्थामा उपयुक्त हुन्छ ।
न्यूयोर्क युनिभर्सिटीमा व्यवस्थापन सञ्चार कार्यक्रमकी निर्देशक सुसैन स्टेलिकको सुझाव छ कि कार्यालय वा समूहमा “Appreciative Inquiry” प्रविधिको उपयोग गर्नु उत्तम हुन्छ ।
यसमा कुनै परियोजनाको सुरुवातमा नै सबै मानिस बसेर आफ्नो निजी आवश्यकता, दिनचर्या र रुचिमाथि चर्चा गर्छन् ताकि समूहका सदस्यहरुको विशेषताहरुलाई समायोजित गर्न सकियोस् ।
उदाहरणका लागि, यदि कसैको बच्चा सानै छ र उनलाई बिहान ५ बजे उठ्नुपर्छ र बच्चालाई डे केयरमा लैजानुपर्छ भने उनी अबेलासम्म बस्न सक्दिनन् । समूहमा उनको खास विशेषता समायोजित हुनु अत्यावश्यक हुन्छ ।
यदि समूह नेताको स्वभाव नरम छ भने बिहान छिटो उठेर काम गर्नेलाई बेलुका छिट्टै घर पठाइदिन सक्छ ।
यसरी काम गर्ने मानिसलाई छिट्टै उठ्नु फाइदाजनक हुन्छ र थकावटबाट पनि बच्न सकिन्छ ।
आफैंलाई चिन्नुहोस्
जसको लागि बिहान उठ्नु फाइदाजनक हुन्छ ऊ छिटो उठ्नु फाइदाजनक हुन्छ तर उत्पादकता बढाउने भ्रममा परेर सबैले मनमानी ढंगले छिट्टै ब्युँझनुको फाइदा छैन ।
आफ्नो निद्राको बानीलाई तपाईं आफैंले चिन्नु जरुरी हुन्छ । तपाईंले दिन वा रातमा कतिबेला बढी ऊर्जाशील महसुस गर्नुहुन्छ थाहा पाउनुहोस् । सबैभन्दा मुख्य कुरा यो हो कि चाहिनेजति सुत्नुहोस् । निद्रा कटौती नगर्नुहोस् ।
सूर्य उदाउनु अगाडि नै ब्यँझनुहुन्छ ताकि तपाईंको आइडल मानिसहरु त्यसैगर्छन्, यो कुनै स्मार्ट तरिका होइन । यसरी जिउनुहोस् जुन तपाईंलाई गज्जब लाग्छ र तपाईंको लागि फाइदाजनक छ ।
किनम्यान भन्छन्, ‘यस्तो पटक्कै नगर्नुहोस्, जबसम्म तपाईं बिहान छिट्टो उठ्दा आनन्दित हुनुहुन्न ।’
(बीबीसी क्यापिटलबाट अनुदित)
The post के बिहान चाँडै ब्युँझन आवश्यक छ ? appeared first on Sajha Post.