म विदेश आउँदा मेरो सानो छोरो उसको आमाको गर्भमा थियो । अहिले त डेढ वर्षको भइसकेको छ । आफ्नै सन्तानलाई स्पर्श गर्न मैले डिजिटल डिभाइसका निर्जीव स्क्रिनहरुलाई असंख्यपटक मुसारेको छु ।
म यस्तो अभागी बाबु हुँ जसले आफ्नो सन्तानले पहिलोपटक बाबा भनेर तोते बोलीमा बोलाउँदा खुसीले प्रफुल्लित हुँदै उसको गाला चुम्न सक्दिनँ । उसले बाबाऽऽऽ भनेको तोते बोलीको अमूल्य झंकार मेरो कानमा ठोक्किन नपाएर टुहुरो चित्कारजस्तै शून्यमा हरायो होला हजारौंपटक ।
जब म यसरी सोच्छु, बाघले चिथोरेको हरिणजस्तै म रगतको आँसु रुनथाल्छु । आँसु नझारेरै । काममा हुन्छु परदेशी भूमिमा । दिनभरी काम । पैसाको लागि ओभरटाइम ।
रातमा घर फर्कँदा सुँगुरको खोरजस्तो होस्टेलको बसाई । कहाँ गएर रुने । मन त छ नि चिच्याइ चिच्याई रुन । यहाँ त मन खोलेर आँसु निख्रनेगरी रुन पनि पाइँदैन । झन् पीडादायी हुँदोरहेछ आँसु नझारी रुन । अल्सर भएको आन्द्रामा अम्ल सिञ्चन गराएजस्तै हुँदो रहेछ आँसुको पीडा । पीडाले अल्सर भएर उकल्चिँदै बल्झिरहेको मनको मनको घाउमा आँखाबाट बग्न नपाएको आँसुले झनै आर्तनाद पीडा थपिदिने ।
मेरो सानो परिवार अहिले तीनतिर छरिएको छ । बुढा बाआमा गाउँतिर हुनुहुन्छ । जहान छोराछोरी शहरतिर । अनि म परदेशमा । बाआमा जस्तै उमेरले डाँडा काटेका वृद्धवृद्धाहरुले भरिएको छ गाउँघर । ५० लाख युवाहरु विदेशिएका छन् । बिछोडको वेदनाले भरिएका छन् गाउँबस्तीहरु ।
स्थानीय तहको निर्वाचनपछि बजेटको ठूलो हिस्सा सडकमा लगाइएको छ । धेरैजसो जनप्रतिनिधिहरुले आफ्नै डोजर किनेका छन् । नकिनेका जनप्रतिनिधिहरु पनि डोजर साहूको अधिनमा छन् ।
डोजरले चिथोरेका छन् डाँडापाखाहरु । बिछोडले कोपरेका छन् त्यहाँ बस्ने मानिसहरुको मन । खोला नदीमा धमिलो पानी बग्छन् । मानिसहरु धमिलो आँसु रुन्छन् ।
हरेक बाबुआमाले सन्तान स्याहार्दा बुढेशकालको सहाराको भर खोजिरहेका हुन्छन् । तर जब बुढेशकालमा ‘मर्नेबेलामा छट्पटिइरहँदा आफ्नो सन्तान पानी खुवाउन आउँदैनन् कि ?’ भन्ने अनिश्चितता बढ्छ । त्यो भन्दा पीडाको पराकाष्ठा के होला । छैन भन्दा सबै छ । सन्तान छन्, सम्पत्ति छ तर, चाहिएको बेला केही छैन । यस्तै पीडा भोगिरहेका लाखौं वृद्धवृद्धाहरुको भीडमा मेरा बाआमा पनि तड्पिइरहेका छन् ।
गाउँमा सामुदायिक विद्यालयहरु राजनीतिको अखडा बनेको छ । शिक्षकहरु पाठ्यक्रमभन्दा धेरै राजनीति पढाउँछन् । छोरी पढाउन मैले पनि काठमाडौं बोलाएको छु मेरी जहानलाई । मेरा दुई सन्तानहरु काठमाडौंको धूलोसँग पौंडेजोरी खेल्दै आयू घटाइरहेका छन् । काठमाडौंको धुँवा र धूलोको कुरा सुन्दा म यहीँ परदेशमा निसास्सिन्छु ।
चुनावअघि स्मार्ट सिटीका नारा दिने जनप्रतिनिधिहरु देश विदेशको शयरमा छन् । उनीहरु एसी गाडी चढ्ने भइसके । जनप्रतिनिधि स्मार्ट बनिसके । तर शहर हिजोभन्दा पनि बेहाल छ । धूलो, धुँवा र दुर्गन्ध । निर्मम भएर भन्ने हो भने अबोध बालबालिकाको आयूसँग खेलवाड गरिरहेका छन् जनप्रतिनिधिहरुले । उनीहरुले सिधै मार्दैनन् तर तड्पाई तड्पाई मार्छन् । जनप्रतिनिधिहरु जसले ‘मन्द बीष’ बाँढिरहेका छन् आफ्ना मतदाताहरुलाई ।
![](http://www.sajhapost.com/wp-content/uploads/2015/08/Sudarshan-Khatiwada1-245x300.jpg)
मुहानै धमिलो छ मेरो देशको शासन व्यवस्थाको । बालुवाटारले नैतिकता पछ्याउँदैन । पार्टी प्यालेस र पार्टी कार्यालय एकसाथ बनिदिन्छ प्रधानमन्त्रीको निजी निवास । नैतिकता १४ वर्षको जेलजीवनको इतिहासद्वारा बलात्कृत छ र, बेहोस छ ।
युवाले आफ्नो बैंसालु चाहना, स्वर्णिम सपना, पसिना र रगतसँग साटेको रेमिट्यान्समा असक्षम शासकहरुले मस्ती गरिरहेका छन् । खुसी हुनका लागि कारणहरुको खडेरी छ । रिसाउनका लागि कारणैकारणको बाढी छ ।
मजस्तै परदेशिने साथीहरुको जहानहरु शहर पसेपछि उनीहरुका रहरहरु जहर भएका छन् । उमेरको आँधीले सम्बन्धहरुलाई भत्काइदिएका छन् । उमेरले अँधेरो नकुरेपछि ‘सम्बन्धहिन सम्बन्धहरु’ जन्मिरहेका छन् र हुर्किएका छन् ।
त्यसो त, अवस्थाले आशंका पनि जन्माउँदो रहेछ । परदेश आएपछि लाग्न थालेको छ कि विश्वासभन्दा अविश्वास बलियो हुन्छ कि ? दूरी बढ्दै जाँदा अविश्वास पनि बढ्दै जाने रहेछ कि ? यस्तो अवस्थामा साह्रै असंयोजनीय भद्रगोल हुँदा रहेछन् सम्बन्धहरु ।
नचाहेको खबरहरु पढ्नुपर्छ अनलाइनहरुमा । श्रीमानले परदेशमा कमाएको रकम कुम्ल्याएर श्रीमती अर्कोसँग हिँडेको प्रकृतिका खबरहरुले मन असाध्यै अशान्त बनाइदिन्छ । ‘श्रीमान खाडीमा, श्रीमती अर्कैको गाडी’मा जस्ता उखानटुक्काहरु प्रचलनमा आइसके । हुन त उखान टुक्काले मतदाता कज्याउन सकिने देशको नागरिक न परेँ म ।
एकजना साथी थिए । उनी देशका नेताहरुसँग असाध्यै रुष्ट छन् । देशविदेश बुझेकै साथी हुन् । तथ्यतथ्यांकसहित कुरा गर्न सक्छन् ।
उनी फिलिपिन्सका कुरा गर्दैथिए । त्यहाँ वैदेशिक रोजगारी प्रतिष्ठित पेशा हो रे । सरकारले नै आपतमा परेका प्रवासी कामदारका लागि रेस्क्यू टिम बनाउने, दक्ष जनशक्ति मात्रै विदेश पठाउने । दक्षिण कोरियाले ९० को दशकमा सुरु गरेको इपिएस प्रणालीको पनि उनी उदाहरण दिन्छन् ।
नेपालबाट केवल दुई प्रतिशत युवायुवतीहरु मात्र दक्ष जनशक्तिको रुपमा विदेश आउँछन् भन्दै थिए । २३ प्रतिशत अर्धदक्ष र ७५ प्रतिशतजस्तै अदक्ष जनशक्ति । हरेक दिन तीन चारजना युवायुवती काठको बासकमा स्वेदश फर्कनुपर्छ । बाँचुञ्जेल त दुःख, सास्ती र बिछोड छँदैछ । मरेपछि पनि आफ्ना छोरा र श्रीमानहरुको शव पाउन दुई/तीन महिनासम्म कुर्नुपर्ने !
उनी एकदिन असक्षम शासकबाट शासित हुनुको पीडा पोख्नेक्रममा आक्रोशित भए । आक्रोश चुलिएपछि अप्ठेरो नमानी भन्दै थिए, ‘म त यी असक्षम शासकहरुलाई सम्झिएर हस्तमैथुन गर्छु । उनीहरुको घृणालाग्दो अनुहारमा स्खलित गरिदिन्छु । अनि जोडले खकारेर उनीहरु नै सम्झिएर बेस्करी थुकिदिन्छु ।’
यति भनिसक्दा उनी धेरै हल्का भएजस्ता देखिए, जस्तो कि घन्टौंसम्म गह्रुंगो भारी बोकेर शितल चौतारीमा भारी बिसाएपछिको भरिया देखिन्छ ।
विचरा, एकदिन कामबाट फर्केपछि सुतेका, कहिल्यै उठेनन् । उनी पनि काठको बाकसमा त्यसरी नै फर्किए चिसो र निर्जीव बनेर जसरी फर्किन्छन् हरेक दिन अन्य चारपाँचजना नेपाली युवाहरु । ऊ विदेश आउँदा गर्भवती थिइन् उनकी जीवन संगिनी । न उनले आफ्नो छोरीलाई एकपटक काखमा लिन पाए न उनको छोरीले कहिल्यै उनको बाबालाई देख्न पाइन् । बाबा भन्न नसक्दै गुमाईन् उनले आफ्नी बाबालाई ।
उनको ‘ममी’ नै अब उनका लागि बाबा र आमा दुवै हुन् । तर, वैशालु उमेरमा बाबा गुमाएकी सन्तानको बाबा र आमा दुवै भूमिका निर्वाह गर्नुपर्ने चेलीको जिन्दगी कस्तो होला ? म कल्पना पनि गर्न सक्दिन ।
आजकल उनको आक्रोश मतिर बसाईं सरेको छ । मलाई लाग्छ, मेरा देशका असक्षम शासकहरु जनहत्यारा हुन् । नागरिकको खुसी खोसेर उनीहरु मस्ती गरिरहेका छन् । यूरोप, अमेरिकाले १८औं शताब्दीमा भोगेको जीवन हामी अहिले भोगिरहेका छन् । के निरोभन्दा कम लाग्छन् र हाम्रो चटके शासकहरु ?
हरेक दसैंमा भावनाको बाँध फुट्छ । वर्षभरीमा कतिधेरै संवेदना, कुण्ठा, आक्रोश र केके केके जम्मा हुँदोरहेछ यो बाँधमा, जुन फुट्दा कहिलेकाँही त जिन्दगी नै बगाइदिन्छ । कतिपय साथीहरु आफूले भोग्ने दुःख र परिवारको दुःखको आँधीबेहरीको असन्तुलनबाट एकबारको जीवनलाई नै बलि चढाइदिन्छन् । तर, म सकेसम्म आफूलाई बलियो बनाइरहेछु । एकाध मिनेट पनि टिक्न दिन्नँ म मृत्यूको आतंकलाई मेरो मनमा ।
जब एक्लै हुन्छु, मनलाई अनेकौं तर्कनाहरुले घेर्न थाल्छन् । के गर्ने, कसो गर्ने, हुटहुटि चल्न थाल्छ । छटपटि हुन थाल्छ । कहिलेसम्म बाँचिरहने यस्तो जीवन ? सहनुको कुनै सीमा हुँदैन र ?
यसपाली पनि दसैं आएको छ । साथीहरु सामाजिक सञ्जालमा सन्देश पठाइरहेका छन् । हरेक सन्देशहरु मलाई जिस्काउन आएजस्ता लाग्छन् । न बिर्सन सकिन्छ न सम्झन । न ब्योहर्न सकिन्छ न बहिस्कार गर्न ।
‘बाबा, यसपाली पनि आउनुहुन्न र दसैंमा ?,’ छोरीले चिन्ताद्वारा शासित प्रश्न गरेकी थिइन् । सानो स्वरमा तर, शक्तिशाली ।
जीवन संगिनी कुरा बुझ्छिन् । उनले कुनै प्रश्न गरिनन् । तर, प्रश्नै नगरी गरिएका प्रश्नहरुले झन् चिमोट्छन् । जिन्दगीमा दसैं कहिल्यै खुसी बनेर आउने भएन । बाल्यकाल अभावमा बित्यो । छिमेकीको दसैं हेरेर थुक निल्दै बित्यो । युवा अवस्था यस्तो छ ।
नेताहरुले किन लेखेनन् घोषणापत्रमा कि अब मेरा मतदाताका लागि दसैंहरु दुःस्वप्न बनेर आउनेछैनन् । दसैंहरु चिथोर्न आउनेछैनन् । दसैंहरु पातलो पर्दाले छोपेको गरिबीलाई झनै नङ्ग्याउन आउनेछैनन् । बिछोड बोकेर आउनेछैनन् दसैं । दसैं अब भेटघाट र खुसी बोकेर आउनेछ ।
झूटो प्रतिवद्धता नै सही । कम्तिमा पढ्न त पाइन्थ्यो भोग्न नपाए पनि !
कहिलेकाँही लाग्छ, म अनेक तर्कनाहरुको भर्चुअल ओछ्यानमा पल्टिएको छु । निन्द्रा नपरेपछि सामाजिक सञ्जाल हेर्दै थिएँ । फेसबुकमा पढेँ एउटा साथीको स्टाटस । ऊ पनि परदेशमै छ, घरदेशमा सुन्दर भविष्य भित्र्याउने सपना सजाएर आएको ऊ पनि परदेश ।
लेखेको रहेछ-
‘युवाको रेमिट्यान्स, सरकारको मस्ति !
रेमिट्यान्स खोज्नेहरुले हिसाबकिताब खोज्नु नपरोस् ।’
आजकल सबै नेपालीहरु उखान-टुक्कामा पोख्त छन् । सम्पन्नताको सूचक उखान-टुक्का हुने भए हामी संसारकै धनी मुलुक हुन्थ्यौं होला ! हाँसोलाई आक्रोशले जित्छन् । सोच्दासोच्दा निदाएछु ।
५० लाख युवाहरु सबै स्वदेश फर्किएका । आक्रोशित अरिङ्गाल बनेर । सरकारी अरिङ्गालले कमाण्डर फेरेछन् ! रेमिट्यान्सको हिसाबकिताब खोज्दै सडकमा आक्रोश ओकल्दै गरेका युवाहरु । नेताहरुको सम्पत्ति विवरण र स्रोत खोज्दै ।
वातानुकुलित लक्जरी सवारीबाट थुतेर शीर्ष नेता ट्याक्टरको पछाडि बाँधिएका । नागढुंगा-कलंकी सडकखण्डको धूलो । घिनाउँदै थियो शीर्ष नेताहरुलाई स्पर्श गर्नुपर्दा । नागरिकले पनि स्वतस्फूर्तरुपमा धूलोवृष्टि गरिरहेका ।
अचम्मलाग्दो दृश्य, इतिहासको ब्याज खान पल्किएका नेताहरुलाई आफ्नै पार्टीका स्वाभिमानी युवा नेताहरुले दुत्कारिरहेका । इमान्दार वृद्धवृद्धा नेताहरु पनि हँसमुख नै देखिएका ।
हैट । कस्तो सपना ! पसिनाले निथुक्रै भिजेछु ।
यस्तै भयो भने ! ५० लाख युवाहरु स्वदेश फर्किएर हिसाबकिताब खोजे भने ! कार्यकर्ताहरु आदेशपालक बन्न छाडे भने ! आफ्ना नेताको मलद्वारलाई पनि हरिद्वार मान्न छाडिदिए भने !
ब्युँझनासाथ पनि तर्कनाहरुले छाडेनन् । आज दसैंको दिन । परदेशमा छु । बिदा छैन । तर्कनाहरुमा पनि आनन्द मान्ने अवस्था छैन । हतार हतार खाना खाएर जागिर तिर दौडिएँ । असाध्यै गर्मी छ खाडीमा । शरीर पसिनाले भिज्न थाले ।
साँच्चै, सपनाको गर्मीले आउने र बाहिरको गर्मीले आउने पसिनामा फरक हुन्छ कि हुँदैन होला ? काममा लागिरहँदा अर्को तर्कना चल्न थाल्यो ।
जसरी हो दसैंलाई भुल्नु न छ दसैंकै दिन । तर, के गर्नु, बिर्सन चाहेकै कुराको सबैभन्दा बढी सम्झना हुने रहेछ !
The post दसैंको ‘दुःस्वप्न’ appeared first on Sajha Post.