एजेन्सी, २७ चैत । एउटा स्मार्टफोनको एप प्रयोग गरेर महिनावारीको समयमा हुने पीडाबाट अब महिलाहरुले निदान पाउनसक्ने भएका छन् । आफ्नो शरीरमा आफै एक्युप्रेसर प्रयोग गरेर तल्लो पेट, टाउको, ढाड र शरीरका अन्य भागहरु दुख्ने समस्याबाट महिलाहरुले छुटकारा पाउनसक्ने एउटा शोधले देखाएको छ ।
लगभग ५० देखि ९० प्रतिशत महिलाहरुमा महिनावारीको समयमा पेट दुख्ने समस्या हुन्छ ।
जर्मनीको एउटा विश्वविद्यालय चेरिटे युनिवर्सिटी मेडिसिन बर्लिनका शोधकर्ताहरुले १८ देखि ३४ वर्षबीच उमेर समूहका महिलाहरुमाथि गरेको अनुसन्धानमा महिनावरीको समयमा महिलाहरुले आफैमाथि एक्युप्रेसर प्रयोग गर्दा राहत महसुस गर्ने देखाएको हो ।
शोधकर्ताहरुले अनुसन्धान गरिएका ती महिलाहरुलाई एउटा स्मार्टफोन एप उपलब्ध गराएको थियो जसमा एक्युप्रेसरको प्रयोग कसरी गर्ने त्यसको सम्पूर्ण प्रक्रियाहरु देखाएको थियो । एप उपलब्ध गराएको तीन महिनापछि ३७ प्रतिशत महिलाहरुमा महिनावारीको पीडा ५० प्रतिशतले कमि भएको देखिएको थियो ।
उक्त एपले उपभोक्ताहरुलाई महिनावारीको पीडाको समयमा मालिस गर्नुपर्ने स्थानहरुको दृश्यात्यमक विवरण दिन्छ । यसले नियमित अन्तरालमा उपभोक्ताहरुलाई रिमाइन्डर पनि पठाउँछ । उक्त शोधको प्रतिवेदन अमेरिकाको जर्नल अफ अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजीमा प्रकाशित भएको थियो ।
The post महिनावारीको पीडा कम गराउने स्मार्टफोनको एप appeared first on Sajha Post.