सल्यान, ८ फागुन । प्रजातन्त्र दिवसको अवसरमा पारेर विभिन्न सरोकार सङघ सस्थाहरुले सल्यानको विकट क्षेत्रमा एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । तुलसिपुर स्थित सिटि हस्पिटलका डाक्टरहरु स्वास्थ्य शिविरको आयोजना गरिएको स्थान त्रिवेणी गाउँपालिकाको विकट क्षेत्र जनता माविमा पुग्दा स्थानीय ८२ वर्षीय चुरामणि खत्री लाठीको सहायतामा यताउता टोलाउँदै मुहारमा खुसी साट्दै थिए । उनलाई शिविरमा डाक्टर आउँदैछन र मेरो रोग निको हुन्छ भन्ने भित्री विश्वास थियो । आफ्नो घरदेखि २ घण्टा पैदल हिडेर स्वास्थ्य परिक्षण गर्न आएका उनले खुसी हुँदै भने, ‘म टाढाजान सक्दिन आज धेरै खुसी छु घर नजिकै डाक्टर साप आएका छन् ।’
त्रिवेणी गाउँपालिकाको ब्यवस्थापन र तुलसिपुर सिटि हस्पिटल प्रालिको आयोजनामा सोमबार अस्पतालका भित्रीरोग विशेषज्ञ डाक्टर साहिल भुषाल, जनरल फिजिसियनहरु डाक्टर सुबोध कुमार शर्मा र डाक्टर हेमराज शर्माले शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । हस्पिटलका अध्यक्ष ललितबहादुर घर्तीले आफ्नो वार्षिक कार्यक्रमअनुसार विकटका गाउँहरु जहाँ स्वास्थ्यको पहँुच नपुगेको स्थानमा आफुहरु पुग्ने बताए । उनले आगामि दिनमा दाङलगायत राप्तीका विकटका बस्तीहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने समेत बताए ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले आफ्नो क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै स्वास्थ्यको पहुँच कमजोर रहेको भन्दै शिविर सञ्चालन गरेको बताए । शिविरमा तुलसिपुर उधोग वाणिज्य सङघका सचिव बिनिल केसी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,स्थानीय स्वास्थ्य संयोजक प्रभात श्रेष्ठ ,भागर्व विकास बैकका प्रबन्धक राजिव वली ,सिटि हस्पिटलको प्राविधिक टिम सोमबार शिविरलाई सहयोग गर्न सल्यान पुगेको थियो । शिविरमा लुहाम, रिखेबगर, काल्चे, कालिमाटीलगायत स्थानबाट घण्टौ पैदल हिडेर स्थानीयहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
The post विकट गाउँमा डाक्टर साप पुग्दा, २ घण्टा हिंडेर स्वास्थ्य परिक्षण appeared first on Sajha Post.