काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने टिप्पणी गरे ।
स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु भएको भन्दै उनले यो पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताए ।
‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस (सबैसम्म पहुँच) हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । ‘ थापाले भने- प्राइभेट (निजी क्षेत्र) लाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । यो हाम्रो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । ‘
महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । सरकारले स्वास्थ्य प्रणालीको सुधारलाई अस्पताल निर्माणसँग मात्र जोडेको महामन्त्री थापाले टिप्पणी गरे ।