काठमाडौं । कोरोना संक्रमणले छलाङ हानेको छ । एकैदिन ४५७ जना संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको यो संख्या करिब पाँच महिनायताकै उच्च हो ।
संक्रमणबाट लामो समयपछि एक जनाको मृत्यु पनि भएको छ । संक्रमणदर पनि ह्वात्तै बढेर १० प्रतिशत नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक ४ हजार ६५१ जनाको परीक्षण गर्दा १० दशमलव १७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ४७३ पीसीआर परीक्षण गर्दा ११४ र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै २ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यसवाहेक मोरङ र सुनसरीमा पनि संक्रमण बढेको छ ।
१५ जना आइसीयू र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । विज्ञले यसलाई संक्रमणको चौथो लहर शुरु भएको अर्थमा बुझेका छन् । उनीहरुले सावधानी नअपनाए संक्रमण उच्च दरमा बढने चेतावनी पनि दिएका छन् ।