ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो । बैठकमा जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीको सहभागिता थियो ।
डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ ।प्रजिअ उपाध्यायले ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्ने बताए ।
प्रजिअ उपाध्यायले पानीका मुहान सफा गर्न स्थानीय तहलाई प्रभावकारी पहल लिन भनिएको पनि जानकारी दिए । । त्यस्तै पानीका मुहानमै उपकरणले परीक्षण गरेर मात्रै ट्यांकरमा हाल्न ट्यांकर व्यवसायीलाई निर्देशन दिइएको छस त्यसका लागि हरेक तीन तीन दिनमा प्रशासन र जनस्वास्थ्य कार्यालयबाट अनुगमन गरिने छ ।