एजेन्सी । शरिरको लम्बाई बढी हुनुका धेरै फाईदा छन् । तर त्यति नै बेफाईदा पनि हुने गरेको छ । उचाईका कारण कतिपय व्यक्तिले धेरै नोक्सानी व्यहोर्नु परिरहेको हुन्छ । पछिल्लो एक अध्ययनले उचाई बढी भएका व्यक्तिमा अनेक खालका रोग लाग्ने संभावना पनि बढी हुने देखाएको छ ।
विशेषगरी यस्ता व्यक्तिमा नशा, छाला र मुटुसँग सम्बन्धित रोगको जोखिम बढी हुने पाईएको छ । शरिरको लम्बाई र रोगबीचको सम्बन्धबारे गरिएको अहिलेसम्मकै ठुलो अध्ययनमा केही रोग उचाईकै कारणले हुने गरेको पनि पाईएको छ ।
एक बयस्क व्यक्तिको उचाई कति हुनुपर्छ भन्ने उसको जीन, पर्यावरण तथा सामाजिक आर्थिक कारणमा निर्भर हुन्छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका वैज्ञानिकले त्यहाँको सशस्त्र सुरक्षा बलका १ हजार भन्दा बढी व्यक्तिमा गरेको अध्ययनले उचाई अनुसार रोग लाग्ने खतराबारे नयाँ तथ्य बाहिर ल्याएको हो ।
वैशानुगत रुपमा उचाई धेरै भएका व्यक्तिमा मुटुको अनियमित धडकन, रक्तप्रवाहमा समस्या जस्ता जोखिम बढी हुने पाईएको छ । यस्तै उनीहरुमा नशामा क्षति, छाला र हाडमा संक्रमणको खतरा पनि बढी हुने गरेको छ ।
व्यक्तिको उचाई जति धेरै हुन्छ रोगको खतरा पनि उति नै धेरै हुने पनि अनुसन्धानमा संलग्न बैज्ञानिकले दाबी गरेका छन् ।