एजेन्सी, १७ जेठ । नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुग्ने रोग हो, पिनास । यो खासै जटिल रोग होइन । तर, समस्या आउनासाथ चिकित्सककँहा गएर परीक्षण गराई उपचार गरिएन भने गम्भीर परिस्थिति निम्तिन सक्छ ।
पिनास चिसोमा बढी हुन्छ । चिसो मौसममा शरीरका अंग सुन्निने गर्छ । विशेषगरी, खानेकुरामा अन्डाको प्रयोग राम्रो मानिदैँन । अन्डा सेवनका कारण नाकभित्रका कतिपय रेसाहरु बन्द हुने गर्छन् र यही नै पिनासको कारण बन्न सक्छ । टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन्, खाली भएको स्थानमा हावा भरिने समस्या हुन्छ । हड्डीको खाली ठाउँमा हावा भरिँदा पनि पिनास निम्तिन सक्छ । साना प्वालहरु नाकको श्वासप्रश्वास मार्गसँगै जोडिएको हुनाले सामान्य समस्यामै पिनास देखापर्छ । रुघा लागेपछि बिस्तारै पिनास देखिन थाल्छ । नाकमा सिँगान भरिने र नाक सुन्निने समस्या हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरिया विकसित भएर पिनास हुन सक्छ । विशेषगरी निधार, गालाको भित्री भाग, आँखाहरुको बीच भाग, नाकको भित्री भागमा पिनास हुने गर्छ ।
१० दिनभन्दा कम समयसम्म पिनास रहे भाइरल संक्रमणका कारण भएको मान्न सकिन्छ । १० दिनभन्दा बढी या एक महिनाभन्दा कम समयसम्म पिनास रहेमा ब्याकटेरियल संक्रमणका कारण हुन्छ । तीन महिना वा १२ हप्ताभन्दा बढी पिनास रहेको खण्डमा गम्भीर भएको बुझ्नुपर्छ । यसलाई क्रोनिक साइनोसाइटिस पिनास भनेर बुझिन्छ ।
पिनास हुन लागेको व्यक्तिको मुख्यतः टाउको दुख्ने र पहेँलो सिँगान आउने गर्छ । कुनैपनि गन्ध नाकले महसुस गर्न सक्दैन । पिनासको सुरुवातमा नाक बन्द हुने, नाकको हड्डी बाँगो हुने, नाक सुन्निने, मासु पलाउने, नाकको भित्री भागसम्म हावा प्रवेश गर्न नपाउने, नाक बन्द भइरहँदा श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । पिनास भएका व्यक्तिको सिँगान नियमित बगिरहन्छ । नाकमा हावा छिर्न नपाउँदा नाकभित्रै सिँगान थुनिने र विस्तारै किटाणु जम्मा हुने गर्छन् । टाउकोको अगाडीको भागमा भारी हुँदै जाने र अनुहारको अगाडीको भागमा पनि पीडा हुन्छ । यो अवस्यामा नाकमा किटाणु जम्मा भएपछि संक्रमण भई पिनास हुने गर्छ । दिउँसोमा सुक्खा खोकी लाग्ने, रुघा लाग्ने लक्षण देखापर्छ । यो अवस्थामा सामान्य ज्वरो पनि आउन सक्छ ।
नाकमा एलर्जी हुँदा संक्रमण फैलिएर पिनास हुने भएकाले एलर्जी हुन नदिन जाडो मौसममा चिसोबाट बच्नुपर्छ । विशेषगरी चिसो खानेकुरा सेवन गर्नु हुँदैन । बाहिरी खानेकुरामा ध्यान दिनुपर्छ । डेरीबाट उत्पादित वस्तु प्रयोग गर्दा त पिनासले झन् सताउँछ । यसबाट सजग रहनुपर्छ । धुवाँ, धुलो, गुणस्तरहीन खानपिनका कारणपनि पिनास हुने भएकाले यस्ता पाटोमा सचेत रहनुपर्छ । पिनास विग्रिने अवस्थामा पुग्यो भने अप्रेशन नै गरेर उपचार गर्नुपर्ने हुन सक्छ ।
The post थाहा पाउनुहोस् अण्डा खाँदा पनि हुनसक्छ पिनास appeared first on Sajha Post.