एजेन्सी, १९ जेष्ठ । अमेरिकी ई-कमर्स कम्पनी अमेजनले गाँजा वैध गर्ने पक्षमा सक्रिय भएर लाग्ने घोषणा गरेको छ । अमेजनको उक्त घोषणाले अमेरिकामा गाँजा वैध गर्ने अभियानमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
अमेजनले अमेरिकामा गाँजा सेवनलाई वैध गर्नुपर्ने कुराको समर्थन गर्ने र कम्पनीमा कर्मचारी नियुक्त गर्दा उनीहरुले गाँजा खाने वा नखाने भनेर जाँच नगर्ने बताएको छ । साथै, गाँजालाई वैध गर्नका लागि अघि सारिएको मरियाना अपर्चुनिटी रिइन्भेस्टमेन्ट एण्ड एक्सपन्जमेन्ट एक्ट नामक कानुनको पक्षमा कम्पनीको सार्वजनिक नीतिसम्बन्धी टोली सक्रिय भएर लाग्ने समेत अमेजनले प्रस्ट पारेको छ ।
उक्त कानुनका आधारमा अमेरिकामा संघीय स्तरबाटै गाँजालाई वैध बनाउने प्रयास भइरहेको र उक्त प्रयासमा अमेजन समेत सामेल हुने छ । अमेजनका ग्लोबल अपरेशन प्रमुख डेभ क्लार्कले मंगलबार एक ब्लगमार्फत् यससम्बन्धमा कम्पनीको धारणा प्रस्ट पारेका छन् । केही पदबाहेक बाँकी सबै पदका लागि आवेदन दिने आवेदकको हकमा गाँजा सेवनबारे जाँच समेत नगरिने उनको भनाइ छ ।
अमेरिकाका केही राज्यमा गाँजालाई वैध बनाइएको छ । हालसम्म १६ वटा राज्यमा गाँजा सेवन वैध मानिन्छ । तर अन्य राज्यका कानुनमा भने गाँजा सेवनलाई अपराधिक क्रियाकलापको रुपमा उल्लेख गरिएको छ । साथै, केही स्थानमा गाँजालाई औषधिको रुपमा सेवन गर्ने अनुमित दिइएको पाइन्छ ।
विश्वका केही मुलुकमा मेडिकल प्रयोजन एवं आनन्दका लागि गाँजा प्रयोग गर्न पाइने व्यवस्था छ । गाँजा सेवनलाई वैधता दिने मुलुकमा क्यानाडा, जर्जिया, दक्षिण अफ्रिका, उरुग्वे लगायतका देश छन् । त्यस्तै केही मुलुकमा औषधिको रुपमा गाँजालाई प्रयोग गर्न पाइन्छ ।
हालसम्म अमेजन कम्पनीले गाँजा उद्योगलाई सहयोग गरेको छैन् किनभने केन्द्रीय स्तरमा अझै पनि गाँजा एक प्रतिबन्धित वस्तु मानिन्छ । कम्पनीले आफ्नो वेभसाइटमा गाँजा बिक्रीको इजाजत नदिएको भए पनि पछिल्लो घोषणासँगै यससम्बन्धमा निकै ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ ।
The post गाँजा सेवनलाई वैध बनाउनका लागि सक्रिय भएर लाग्ने अमेजनको घोषणा appeared first on Sajha Post.