एजेन्सी, १८ जेष्ठ । चीनमा बर्ड फ्लूको H10N3 स्ट्रेनबाट पहिलो पटक एक व्यक्ति संक्रमित भएका छन् । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जियाङ्सु प्रान्तमा H10N3 नामक बर्ड फ्लूको स्ट्रेन विश्वमै पहिलो पटक मानवमा फेला परेको जनाएको हो ।
पूर्वी प्रान्त जियाङ्सुस्थित झेजियाङ सहरका ४१ वर्षीय एक व्यक्तिमा बर्ड फ्लूको H10N3 स्ट्रेन पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
मे २८ मा बर्ड फ्लूको उक्त स्ट्रेनबाट ती व्यक्ति संक्रमित भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । ज्वरोसहितका लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको छ ।
ती व्यक्ति बर्ड फ्लूबाट कसरी संक्रमित भए भनेर पहिचान गर्ने प्रयास भइरहेको समाचार माध्यमले जनाएका छन् । यसअघि H10N3 मानिसमा भेटिएको थिएन । बर्ड फ्लूको यो स्ट्रेनलाई कम संक्रामक तथा कम गम्भीर स्ट्रेन मानिन्छ । यो स्ट्रेन ठूलो मात्रामा फैलिने संभावना समेत कम हुन्छ ।
चीनमा बर्ड फ्लूका विभिन्न स्ट्रेन फेला परिसकेका छन् । केही स्ट्रेनबाट मानिस समेत संक्रमित भएका घटना छन् । विशेषगरी कुखुरा पालनमा संलग्न मानिस बर्ड फ्लूबाट संक्रमित हुन्छन् । जस्तै, H5N8 लाई एउटा उपप्रकार मान्न सकिन्छ र यो स्ट्रेन मानवका लागि कम खतरनाक छ तर चरा एवं कुखुराका लागि भने निकै घातक मानिन्छ ।
यही अप्रिलमा पूर्वोत्तर चीनस्थित शेनयाङ सहरमा जंगली चराचुरुङ्गीका लागि निकै संक्रामक मानिने बर्ड फ्लूको H5N6 स्ट्रेन फेला परेको थियो ।
बर्ड फ्लूका विभिन्न स्ट्रेनमध्ये H5N1 लाई अझ बढी संक्रामक मानिन्छ । पहिलो पटक १९९६ मा हासमा देखिएको यो स्ट्रेन चराचुरुङ्गीका लागि निकै घातक मानिन्छ । सन् १९९७ मा कुखुराबाट पहिलो पटक हङकङका एक व्यक्तिमा यो स्ट्रेन सरेको थियो । सन् २००३ मा बर्ड फ्लूको यो स्ट्रेन चीनसहित युरोप, अफ्रिका एवं एसियाका विभिन्न देशमा फैलिन सुरु गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले बर्ड फ्लू सामान्यतया मानिसमा संक्रमण नहुने वा मानिसलाई प्रभावित नगर्ने बताउँदै आएको छ । संगठनको दाबीबीच H10N3 बाट पहिलो पटक मानिस संक्रमित हुन पुगेका छन् ।
The post चीनमा बर्ड फ्लूको H10N3 स्ट्रेनबाट पहिलो पटक मानिस संक्रमित appeared first on Sajha Post.