भारतमा आइएमएमा दर्ता मात्र ३ लाख ५० हजार भन्दा बढी एलोप्याथिक चिकित्सिक छन् । भारतभरि कति होलान ? भारतमा मात्र हैन, संसारभरि यो चिकित्सा पद्धति फैलिएको छ । बाबा रामदेव त्यस्तो चिकित्सा पद्धतिबारे गलत कुरा बोल्दैछन् । जुन चिकित्सा पद्धतिबारे उनलाई केही थाहा छैन । उनी न एमबिबिएस हुन् न एमडी हुन् । जुन बिषयको उनी कुनै ज्ञाता हैनन्, उनले त्यसबारे अनेक चिज बोल्ने ज्ञान र अधिकार कहाँबाट पाउँछन् ?
बाबा रामदेवले एलोप्याथिक उपचार विधिबारे नचाहिँदो बोलेका छन् । यो सबै खेलवाड हो, नाटक हो । अक्सिजन दिएर पनि बिमारीलाई कुनै फाइदा हुँदैन, एलोप्याथी एक मुर्ख विज्ञान हो, डाक्टरहरु आफैं मरिरहेका छन्, उनीहरुले के बिमारीको उपचार गर्दछन् जस्ता हास्यास्पद कुरा बोलेका छन् । उनका यस्ता अभिव्यक्तिले एलोप्याथिक अभ्यासकर्ताहरुमा ठूलो आक्रोश छ ।
म विगत ४५ वर्षदेखि एलोप्याथी अभ्यास गरिरहेको छु । बाबा रामदेवले आयुर्वेदमार्फत् के कति योगदान गरेका छन्, त्यसबारे मसँग कुनै जानकारी छैन । त्यो मेरो सरोकारको बिषय पनि भएन । म आयुर्वेदको विरोधी हैन । एलोप्याथीको आफ्नै स्थान छ ।
आयुर्वेदको आफ्नै स्थान छ । म यो भन्न सक्दिनँ कि आयुर्वेद खराब हो, एलोप्याथी मात्र ठीक हो । त्यसैगरी बाबा रामदेवले यो भन्ने अधिकार राख्दैनन् कि एलोप्याथी खराब हो, आयुर्वेद मात्र ठीक हो ।
अस्पतालले केही गरिरहेका छैनन् भन्ने उनको दाबीमा कुनै सत्यता छैन । यदि केही गरिरहेका छैनन् भने मान्छे किन अस्पताल आउँछन् ? तथ्यांकले के भन्छ ? अस्पताल आएका मध्ये कति प्रतिशत बाँचेको छन्, कति प्रतिशत मरेका छन् ? त्यो हेर्न पर्दैन ? कोभिड–१९ कै केसमा ९८ प्रतिशत मानिस बाँचिरहेका छन्, २ प्रतिशत मरिरहेका छन्, के ती बाँचेका ९८ प्रतिशतका लागि अस्पताल र डाक्टर, नर्सहरुको कुनै योगदान छैन ?
महामारी नियन्त्रण ऐनमुताबिक बाबा रामदेवले यस्तो बोल्न नपाउनु पर्ने हो । उनलाई कारबाही हुनुपर्ने हो । अरु कुरा मेरो सरोकारको कुरा हैन । उनी के बनाउँछन्, के बेच्छन्, केको व्यवसाय गर्दछन्, त्यो मलाई थाहा छैन ।
तर, महामारीको बेलामा जनस्वास्थ्य सम्बन्धी झुठो कुरा बोल्न पाइन्न । त्यो आपत्तिजनक हुन्छ । एलोप्याथीमाथि ढुङ्गा हान्ने, हिलो छ्याप्ने अधिकार उनलाई कसले दिएको हो ?
जसले एलोप्याथी पढेकै छैन, उसलाई यो विज्ञानबारे के कति थाहा हुन्छ ? यो दिवालिया विज्ञान हो भन्ने उसले कहाँबाट कसरी थाहा पायो ? संसारमा कति प्रतिशत एलोप्याथीको औषधि चल्छ ? कति प्रतिशत आयुर्वेदको चल्छ ? यदि सबै एलोप्याथी औषधिको प्रयोग रोकिदिने हो भने के होला ? उनी योगविद्याका गुरु हुन् । उनको ज्ञान, दक्षता त्यसैमा होला । त्यसबारे मलाई केही भन्नु छैन ।
रामदेवले के के बनाउँछन्, बेच्छन्, ती जनस्वास्थ्यको दृष्टिकोणले कति ठीक छन्, बेठीक छ, त्यो मैले भन्ने हैन । त्यसको अनुसन्धान सरकारले गरोस् । म यिनको पछि किन लागूँ । जस्तो कि उनले ‘कोरोनिल’ भन्ने औधषी बनाएका छन् । उनी भन्दैछन् कि त्यसले रोगथाम पनि गर्दछ, निको पनि पार्दछ, त्यसको प्रभावकारिता के हो ? त्यो तथ्यांकमा भन्न सक्नु पर्यो नी ?
कोरोना रोग नै नयाँ थियो । यसको औषधि नै बनेको थिएन । अहिले केही औषधिहरु आउँदैछन् । ती कति प्रभावकारी हुने हुन यसै भन्न सकिन्न । भारतमा मात्र हैन, यो संसारभरिको स्थिति हो ।
यो स्थितिमा भएकै औषधि र ज्ञानबाट एलोप्याथीले बिमारीहरुको उपचार गरिरहेको छ । त्यसमध्ये ९८ प्रतिशत बाँचिरहेका छन् भने एलोप्याथी औषधी नै नखानुस्, डाक्टरको मै नजानुस्, अस्पताल नै नजानुस् जस्ता सार्वजनिक अभिव्यक्ति दिनु कति उचित हो ?
रामदेव जथाभावी बोलिरहेका छन् तर प्रतिउत्तरमा कोही बोलिरहेको छैन । सबै डराई रहेका छन्, यस्तो पनि हुन्छ । राम्रो भयो कि स्वास्थ्यमन्त्री बोले । त्यसपछि उनीको बोलीमा अलिक ब्रेक लाग्यो, अन्यथा यिनले केके बोल्थे यसै भन्न सकिन्न ।
त्यसपछि पनि उनले ‘हजारौं डाक्टर भ्याक्सिन लिएर पनि मरे, भ्याक्सिन किन लगाउने’ भने । यो बिल्कुलै झुठो कुरा हो । भारतमा जति पनि डाक्टरहरुको मृत्यु भएको छ, त्यो भ्याक्सिन आउनु भन्दा अगाडिको कुरा हो । भ्याक्सिन लगाएका मानिसमा पनि कोरोना भएको छ । तर, मृत्यु नगन्य छ ।
खोप एक महत्वपूर्ण विधि हो । यसै विधिबाट पोलियो, बिफर नियन्त्रण भएको हो । कोरोना भ्याक्सिनको पनि अहिलेसम्म कुनै साइड इफेक्ट देखिएको छैन । जतिले पाएका छन्, लगाएका छन्, राम्रो भएको छ । एक डोज मात्र लगाउने पनि छिटो निको भएका छन् । रामदेव भन्दैछन्, ‘भ्याक्सिन नलगाऔं, कामै छैन ।’ यो पनि कुनै कुरा हो ।
सामान्यतः डाक्टरहरुले ४ देखि ६ घण्टा काम गर्ने हो । अहिले डाक्टरहरु १२ देखि १८ घण्टासम्म काम गर्दैछन् । हरदम पिपिई लगाएर काम गर्दा कति गाह्रो हुन्छ ? न खान मिल्छ, नसजिलै पानी पिउन मिल्छ ? कति गाह्रो छ ? त्यसको के कुनै मूल्य छैन ?
अधिकांश मृतकहरु ढिलो गरी अस्पताल आई पुगेका र अक्सिजन अभावले तुरुन्तै अक्सिजन दिन नसकेकाहरु छन् । के त्यसको दोष पनि डाक्टरहरुले बोक्नु पर्ने हो । यदि त्यस्तो हो भने हामी काम छोडिदिन्छौं, त्यसपछि के हालत होला ?
रामदेव बाबा र सरकारबीच कुनै न कुनै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को सम्बन्ध छ । नत्र स्वास्थ्यमन्त्री करोनिलको उद्घाटनमा किन जान्छन्, किन सरकार रामदेवलाई केही भन्न, गर्न सक्दैन ?
द वायरमा आरफा खानम सेरवानीसंगको कुराकानीबाट ।
The post बाबा रामदेवलाई झुटो बोल्ने कुनै अधिकार छैन appeared first on Sajha Post.