काठमाडौं, १४ जेठ । भारतले नेपाललाई कोभिशिल्ड खोप दिन नसक्ने बताएपछि छाएको अन्यौल हट्ने भएको छ । नेपालले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेसँगै अन्यौल हट्ने भएको हो ।
केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिशिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । त्यसैका आधारमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उनले बताए । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ ।
खोप सल्लाहकार समितिको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताए ।
नेपालमा ६५ वर्षमाथिका करिब १५ लाख व्यक्तिले पहिलो डोज कोभिसिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । कोभ्याक्सले नेपाललाई कुल जनसङ्ख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
The post कोभिशिल्डको विकल्प के ? नेपालले दियो यी दुई विकल्प appeared first on Sajha Post.