एजेन्सी, ८ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार १९४ संक्रमितको ज्यान गएको छ भने २ लाख ५७ हजार २९९ नयाँ संक्रमित थपिएका छन् ।
तर केही समययता कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या घट्न थालेको छ । भारतमा एक हप्ताअघि ३ लाखभन्दा बढी दैनिक संक्रमित थपिएका थिए तर बितेको ६ दिनमा भने दैनिक संक्रमितको संख्या घटेर ३ लाखमुनि पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडासँगै हालसम्म २ लाख ९५ हजार ५२५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएपछि भारतमा सर्वसाधारणसहित चिकित्सकले समेत ज्यान गुमाउन पुगेका छन् ।
इन्डियन मेडिकल एसोशिएसनले सार्वजनिक गरेको तथ्याङ्कले दोस्रो लहरमा मात्रै ४२० जना चिकित्सकले ज्यान गुमाएको देखाउँछ । कोभिड संक्रमणबाट दिल्लीमा मात्रै १०० जना चिकित्सकले ज्यान गुमाएको एसोशिएसनले जनाएको छ ।
त्यस्तै बिहारमा ९६, उत्तर प्रदेशमा ४१, गुजरामा ३१, आन्ध्र प्रदेशमा २६, महाराष्ट्रमा १५, मध्य प्रदेशमा १३ जना चिकित्सकको मृत्यु भएको छ । साथै, आसाममा ३ र गोवा तथा हरियाणामा १-१ जना चिकित्सकको ज्यान गएको एसोशिएसनको भनाइ छ ।
The post कोरोना संक्रमणबाट दोस्रो लहरमा मात्रै ४२० भारतीय चिकित्सकको मृत्यु appeared first on Sajha Post.