एजेन्सी, ६ जेष्ठ । हालैको एक अध्ययनले साउदी अरब र युएईमा क्यान्सरबाट पीडित युवायुवतीको संख्या डरलाग्दो रुपमा बढिरहेको देखाउँछ ।
शारजाहज कलेज अफ मेडिसिनका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययन अनुसार साउदी अरब र युएईमा क्यान्सर रोग देखिने युवायुवतीहरुको संख्या अमेरिका र बेलायत जस्ता मुलुकमा भन्दा बढी छ । दुबै मुलुकमा क्यान्सरबाट पीडित मानिसमध्ये ५० वर्ष उमेरमुनिका मानिसको संख्या झण्डै आधा छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा क्यान्सरका नयाँ बिरामीमध्ये २० देखि ४९ वर्ष उमेर समूहका मानिसको संख्या ४५.४ प्रतिशत छ भने साउदी अरबमा ३९.४ प्रतिशत छ । जबकि क्यान्सरका नयाँ बिरामीमध्ये उक्त उमेर समूहका मानिसको संख्या क्यानाडामा ८, अमेरिकामा ८.७५ र र बेलायतमा ८.३३ प्रतिशत रहेको छ ।
क्यान्सरबाट पीडित मानिस (२० देखि ४९ उमेर समूह) को संख्या युएईमा हरेक वर्ष बढेको छ र यसमध्ये पनि महिलाहरुमा क्यान्सरको समस्या बढी देखिन थालेको छ । र अधिकांशमा स्तन, आन्द्रा तथा मासी/ब्लड क्यान्सर देखिने गरेको अध्ययनको निष्कर्ष छ ।
शारजाहज कलेजका अनुसन्धानकर्ता एवं अध्ययनका लेखक हुमाइद अल शाम्सीले क्यान्सर देखिने दर डरलाग्दो भएको र यसको कारण खोज्नका लागि थप अनुसन्धान गर्नुपर्ने बताउँछन् ।
‘यो दर डरलाग्दो छ र यति धेरै मात्रामा क्यान्सरका बिरामी देखिनुको कारक तत्वको सम्बोधन गर्न थप अनुसन्धान आवश्यक छ’, शाम्सीले भने । क्यान्सरबाट पीडित हुने मानिसको संख्या बढ्दै जानु चिन्ताको विषय भएको र भविष्यमा पनि यो दर बढ्न सक्ने उनको भनाइ छ ।
क्यान्सरको मुख्य कारक तत्वमा धुम्रपान, घाम, अपर्याप्त पोषण, शारीरिक क्रियाकलापको अभाव वा बढी तौल जस्ता कुरा रहेका छन् ।
The post साउदी अरब र युएईमा क्यान्सरबाट पीडित युवाको संख्या डरलाग्दो रुपमा बढ्दै appeared first on Sajha Post.