Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘लामो समय काम गर्दा मुटु रोगको जोखिम उच्च, हरेक वर्ष लाखौंको ज्यान गइरहेको छ’

$
0
0

एजेन्सी, ४ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लामो समयसम्म काम गर्दा मस्तिष्कघात तथा मुटुसम्बन्धी रोगका कारण हरेक वर्ष लाखौं मानिसको ज्यान गइरहेको बताएको छ ।

डब्लुएचओ र अन्तर्राष्ट्रिय श्रम संगठनले मृत्यु, स्वास्थ्य र काम गर्ने अवधिबारे एक अध्ययन गरेका छन् । उक्त अध्ययनले हरेक हप्ता ५५ घण्टा काम गरेका कारण सन् २०१६ मा ७ लाख ४५ हजार मानिसको ज्यान गएको देखाउँछ । यसरी ज्यान गुमाउने मानिसमध्ये अधिकांश ४५ वर्षदेखि ७४ वर्षभित्र हरेक हप्ता कम्तिमा ५५ घण्टा काम गरेका मानिस छन्

लामो समयसम्म काम गर्दा महिनाभन्दा पुरुषहरु बढी प्रभावित हुने अध्ययनको निष्कर्ष छ । बढी समय काम गरेका कारण ज्यान गुमाउनेमध्ये ७२ प्रतिशत पुरुष रहेका छन् । मृतकमध्ये पश्चिमी प्रशान्त क्षेत्र र दक्षिणपूर्वी एसियामा मानिस र बढी उमेर पुगेका वा अधबैसे मानिसको संख्या बढी  छ ।

सोमबार इनभाइरोमेन्टल इन्टरनेशनल  नामक जर्नलमा प्रकाशित अध्ययनबाट सन् २००० देखि २०१६ को अवधिमा लामो समय काम गरेका कारण उत्पन्न हुने मुटुसम्बन्धी रोगबाट ज्यान गुमाउने संख्या ४२ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै सोही अवधिमा बढी कामका कारण हुने मस्तिष्कघातबाट ज्यान गुमाउने संख्या १९ प्रतिशतले बढेको छ ।

अध्ययन भन्छ- हप्तामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्ने मानिसमा मस्तिष्कघात हुने संभावना अन्य मानिसभन्दा ३५ प्रतिशत बढी हुन्छ र धमनी खुम्चिएर रक्त सञ्चार बन्द हुने जस्ता मुटुसम्बन्धी रोगको संभावना ३५-४० घण्टा काम गर्ने मानिसको तुलनामा १७ प्रतिशत बढी छ ।

‘पचपन्न घण्टा वा सोभन्दा बढी काम गर्दा स्वास्थ्यमा गम्भीर खतरा हुन्छ’, डब्लुएचओको वातावरण, जलवायु परिवर्तन तथा स्वास्थ्य विभागकी निर्देशक डा. मारिया नेइराले विज्ञप्तिमार्फत् भनिन्, ‘लामो समय काम गर्दा अकालमा ज्यान जान्छ भन्ने तथ्यप्रति सरकार, रोजगारदाता र कामदार सबै सचेत हुन आवश्यक छ ।’

डब्लुएचओका अनुसार अत्यधिक समय काम गर्दा दुई तरिकाले मानिसको मृत्यु हुने गर्छ । पहिलो, लामो समयको कामबाट उत्पन्न मनोवैज्ञानिक तनावले शारीरिक प्रतिक्रिया उत्पन्न हुन्छ र फलस्वरुप रक्त सञ्चार प्रणालीमा गडबढी हुन्छ भने विभिन्न तन्तुमा अस्वभाविक क्षति हुने गर्छ ।

दोस्रो, तनावका कारण गरिने धुम्रपान, मद्यमान लगायत कमजोर पोषण, शारीरिक निष्क्रियता, अपर्याप्त निन्द्रा जस्ता स्वास्थ्यका लागि हानिकारक मानिने व्यवहारले मुटु रोग र मस्तिष्कघातको जोखिम बढाउँछन् ।

अध्ययनमा मार्च ११ २०२० अघि (अर्थात् डब्लुएचओले कोरोना भाइरसलाई महामारी घोषणा गर्नुपूर्वको समय) को तथ्याङ्क समावेश गरिएको छ । तर कोरोना महामारीका कारण घरबाटै काम गर्न बाध्य भएका कामदारमाथि ठूलो दबाब परेको हुन् सक्ने पनि अध्ययनको अनुमान छ ।

न्युयोर्कस्थित नर्ड भिपिएन टिम्स नामक कम्पनीले महामारीबीच गरेको अनुसन्धानले बेलायत, अमेरिका, अष्ट्रिया र क्यानाडामा घरबाटै काम गर्ने मानिसले पहिलाको भन्दा बढी घण्टा काम गरेको देखाउँछ । फेब्रुअरीमा प्रकाशित सो अध्ययन अनुसार ती मुलुकमा दैनिक कार्यावधि औसतमा २.५ घण्टाले बढेको देखिन्छ । बेलायत र नेदरल्याण्डस्सका मानिसले ८ बजे रातिसम्म काम गर्ने र यसअघिको भन्दा धेरै घण्टा काम गरेको पाइन्छ ।

‘कोभिड-१९ का कारण मानिसको काम गर्ने तरिका निकै परिवर्तन भएको छ’, डब्लुएचओका महानिर्देशक टेड्रोस अडानम गेब्रेयससले विज्ञप्तिमा भनेका छन्, ‘कैयौं उद्योगमा टेलिवर्किङ सामान्य बनिरहेको छ र यसबाट घर र कामबीचको सीमाना हटिरहेको छ । यसबाहेक, कैयौं कम्पनीले आफ्ना क्रियाकलाप कम गरेका वा क्रियाकलाप बन्द गरेका छन् र पारिश्रमिक पाइरहेका मानिसले पहिलाको भन्दा धेरै घण्टा काम गरिरहेका छन् ।’

‘कुनै पनि कामको मूल्य मस्तिष्कघात वा मुटु रोग होइन । सरकार, रोजगारदाता र कामदारले कामदारको स्वास्थ्य बनाउने तरिका/सीमामा सहमत हुन आवश्यक छ’, गेब्रेयससले थपे ।

The post ‘लामो समय काम गर्दा मुटु रोगको जोखिम उच्च, हरेक वर्ष लाखौंको ज्यान गइरहेको छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles