एजेन्सी, २६ बैशाख । कोभिड-१९ विरुद्धको खोप लगाएपछि गर्भवती महिला र गर्भको शिशुलाई कुनै जोखिम हुन्छ वा हुँदैन भनेर बहस भइरहेको छ । तर हालसम्मका प्रमाणले भन्छन्- कोभिड-१९ को खोप आमा र शिशुका लागि सुरक्षित छ ।
सुरक्षित हुने वा नहुने भन्ने अन्यौलमाझ कोरोनाविरुद्धको खोप लगाएका गर्भवती महिलामाझ गरिएको अध्ययनले आमा र शिशु दुबैलाई खोपका कारण कुनै जोखिम उत्पन्न नहुने देखाएको हो ।
अध्ययनबाट प्राप्त प्रमाण अनुसार खोप लगाएपछि गर्भमा रहेको भ्रूणको समेत रोग प्रतिरोधी क्षमता बढ्ने गर्छ । खोपका कारण गर्भैदेखि रोग प्रतिरोधी क्षमता विकास गरेका बालबालिकामा जन्मेपछि समेत कोरोनाको जोखिम कम हुने पनि प्रमाणले देखाउँछ ।
तर गर्भवती र गर्भमा रहेको शिशुका लागि कोरोना खोपको जोमिख कम भएता पनि गर्भवती अवस्थामा कोरोना भाइरसबाट संक्रमित महिलाले समय नपुग्दै बच्चा जन्माउने संभावना अन्य महिलाको भन्दा बढी हुन्छ ।
हालसम्मका अध्ययन र प्रमाण भन्छन्- गर्भवती हुँदा कोरोनाबाट संक्रमित भएका महिलाले समय नपुगी बच्चा जन्माउने संभावना अन्य महिलाको झण्डै तीन गुणा बढी रहेको र यसबाट नवजात शिशुको जीवन जोखिममा पर्न सक्छ । तर खोप लगाउने कार्यले यस्तो जोखिम निकै कम हुने गर्छ ।
यही अप्रिलको सुरुमा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले एउटा तथ्याङ्क सार्वजनिक गरेको थियो । सिडिसीले आफ्नो अध्ययनका क्रममा कोरोना खोप लगाएका ९० हजार गर्भवती महिलाको अवस्था निगरानी (track) गरेको थियो । र अध्ययनपछि सिडिसीले सुरक्षासम्बन्धी कुनै जोखिम नरहेको निष्कर्ष निकाल्यो ।
सिडिसीको उक्त निष्कर्षयता खोप लगाउने गर्भवती अमेरिकी महिलाको संख्या १ लाख ५ हजार पुगेको छ । यद्यपि, केही नयाँ चिन्ताहरु भने देखिएका छन् ।
सिडिसीले आठ सय जना गर्भवती महिलालाई नजिकबाट निगरानी गरेको थियो । जसमध्ये ७१२ जनाले शकुशल बच्चा जन्माउन सकेका थिए तर ११५ जनाले भने शिशु गुमाउन पुगेका थिए/वा गर्भपतन भएको थियो । तर तथ्याङ्क हेर्दा गर्भ तुहिने/मृत शिशु जन्माउने महिलाको संख्या औसत मात्रै हो ।
यही आधारमा अप्रिल १६ मा बेलायतको खोप तथा इम्युनाइजेशन समितिले सरकारसमक्ष गर्भवती वा भर्खर सुत्केरी भएका वा गर्भवती हुन चाहने महिलालाई उमेर र क्लिनिकल जोखिम हेरेर खोप लगाउन सिफारिस गरेको थियो । तर उक्त सिफारिसमा फाइजर र मोडर्ना खोप प्रयोग गर्नुपर्ने भनिएको छ ।
उक्त सिफारिसमा एस्ट्रा जेनेकालाई समावेश गरिएको थिएन । किनभने खोप लगाएका केहीमा रगत जम्ने समस्या देखिएपछि एस्ट्रा जेनेका प्रति बेलायतीहरुको विश्वास घट्दै गएको छ ।
The post कोभिड खोप लगाएपछि गर्भवती महिला र शिशुलाई कुनै जोखिम हुन्छ ? appeared first on Sajha Post.