काठमाडौं, २२ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार अपरान्ह प्राप्त जानकारीका अनुसार एकै दिनमा काठमाडौँमा २ हजार ८ सय ४९ संक्रमित थपिएका छन् ।
यी संक्रमितमध्ये ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना संक्रमित रहेका छन् । देशभर पनि कोरोना संक्रमण तीव्र बनेको छ ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
विगतको हप्ताभन्दा १२७ प्रतिशतले नेपालमा कोरोना संक्रमण फैलिइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो विदेशका अन्य देशहरुभन्दा धेरै बढी हो ।
लुम्बिनी प्रदेशमा यो दर ३०० प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ । एक लाख जनसंख्यामा १० जना संक्रमित हुनु धेरै तीव्र फैलावटको रुपमा बुझ्नुपर्ने र नेपालमा यो अवस्था भयावह रहेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपाल दोस्रो चरणको संक्रमणको एक तिहाईको अवस्थामा रहेको र अझै दुई तिहाई संक्रमण देखिन बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । नेपालमा गत वर्षभन्दा यसपटक धेरै द्रुत गतिमा संक्रमण फैलिइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
नेपालमा टेस्ट पोजेटिभी दर ३० प्रतिशतभन्दा बढी रहेको र यो असाध्यै तीव्र रहेको मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र भारतले यो दर १० प्रतिशत हुँदा नै लकडाउन गर्ने नीति अख्तियार गरेको छ । यो दर ३ प्रतिशतमा झरेमा मात्र पर्याप्त परीक्षण भइरहेको मान्न सकिने बुझ्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपालमा दैनिक मृत्युको संख्या पनि तीव्र भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले व्यापक मात्रामा कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयले संसारका अनुभवअनुसार लकडाउनले भन्दा परीक्षण र आइसोलेसनको मात्रा बढाएर संक्रमण तीव्र घटाउन सकिने र यो आर्थिकरुपमा पनि धेरै फाइदाजनक रहेको स्पष्ट पारेको छ ।
(सच्याइएको- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार यसअघि काठमाडौंमा संक्रमितको संख्या ३ हजार ८ सय ४९ लेखिएको थियो । तर मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अर्कै भएकाले त्यसैअनुसार सच्याइएको छ- सम्पादक)
The post उपत्यकामा एकैदिन ३ हजार ८ सय २५ कोरोना संक्रमित थपिए appeared first on Sajha Post.