काठमाडौं, २० बैशाख । रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) मजबुत भएका व्यक्तिलाई प्राय: रोगले गम्भीर रुपमा आक्रमण गर्न सक्दैनन् । इम्युनिटी राम्रो भएमा रुघा, खोकी, ज्वरो जस्ता सामान्य समस्यादेखि क्यान्सर जस्ता घातक समस्यासँग लड्न सकिन्छ ।
यतिबेला विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले रोग प्रतिरोधी क्षमता बलियो भएका मानिसलाई गम्भीर रुपले आक्रमण गर्न नसक्ने अध्ययनबाट पुष्टि भइसकेको छ ।
रोग प्रतिरोधी क्षमता बढाउन पर्याप्त निन्द्रा, व्यायाम र तनावमुक्त जीवनको आवश्यकता पर्छ । यसबाहेक, हामीले सेवन गर्ने कुराले पनि इम्युनिटी पावर बढ्ने/नबढ्ने निर्धारण गर्छ ।
त्यसैले यहाँ हाम्रो शरीरको इम्युनिटी पावर बढाउने केही चीज उल्लेख गरिएको छ । तर निम्न चीजले मात्रै शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछन् भन्ने होइन् । संसार कैयौं यस्ता चीज छन् जसको सेवनबाट हाम्रो शरीरको रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ ।
१. अमिला फलफूल
रुघाखोकी लागेको बेलामा भिटामिन ‘सी’युक्त खानेकुराहरु बढी सेवन गर्नुपर्ने प्राय: डाक्टरले सल्लाह दिन्छन् । यसको कारण के हो भने भिटामिन ‘सी’ भएका कुरा सेवन गर्दा हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । र भिटामिन ‘सी’को सबैभन्दा राम्रो स्रोत कागती लगायतका अमिला फलफूल (सुन्तला, जुनार समेत) हुन् । यसबाहेक, डल्ले खुर्सानीमा समेत अत्यधिक मात्रामा भिटामिन ‘सी’ पाइन्छ । त्यसैले यसलाई पनि हाम्रो भोजनको अंङ्ग बनाउनुपर्छ ।
२. ब्रोकाउली
ब्रोकाउलीमा विभिन्न भिटामिन र खनिज तत्व हुन्छन् । यसमा भिटामिन ‘ए’, ‘सी’, ‘ई’का साथै फाइबर पाइन्छ । साथै, ब्रोकाउलीमा क्यान्सरसँग लड्न सघाउने एन्टिअक्सिडेन्ट हुन्छ । तर धेरै पकाउँदा यसमा भएका भिटामिन र खनिज उड्ने गर्छन् । त्यसैले ब्रोकाउलीलाई कम पकाउनुपर्छ । ब्रोकाउलीलाई उमालेर खाने हो भने सबैभन्दा राम्रो हुने विभिन्न अनुसन्धानले पुष्टि गर्छन् ।
३.लसुन
हाम्रो भान्सामा धेरै प्रयोग हुने वस्तुमा लसुन पनि पर्छ । लसुनले खानाको स्वाद मात्रै बढाउँदैन, हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । लसुनलाई इम्युनिटी पावर बढाउने चीजका रुपमा हेरिन्छ । किनभने यसमा एलिसिन जस्ता सल्फरयुक्त तत्वको मात्रा अत्यधिक हुन्छ ।
४. अदुवा
बिरामी भएपछि प्राय: मानिसले खोज्ने एउटा चीज अदुवा पनि हो । अदुवाले शरीरभित्र हुने जलन घटाउँछ र यसको सेवनबाट घाँटी दुखेको बेला राहत मिल्छ । साथै,अदुवा सेवनबाट वाकवाकी लाग्ने समस्याबाट केही छुटकारा मिल्छ । यसबाहेक, अरुवा सेवनबाट दीर्घ पीडा (chronic pain) कम हुने र यसमा कोलेस्टरोल घटाउने तत्व पाइन्छ । इम्युनिटी बढाउन समेत यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
५. हरियो सागपात
कतिपयले रायो, चम्सुर र पालुङ्गो जस्ता हरिया तरकारीलाई ‘सुपर फुड’ पनि भन्छन् । हरियो सागपातमा भिटामिन ‘सी’ को मात्रा धेरै हुन्छ भने विभिन्न खाले एन्टिअक्सिडेन्ट पाइन्छ । त्यस्तै, रोगसँग लड्न सघाउने बेटा क्यारोटिन जस्ता महत्वपूर्ण तत्व पनि हरियो सागपातमा धेरै हुन्छ । तर ब्रोकाउली जस्तै हरियो सागपातलाई पनि धेरै पकाउनु हुँदैन ।
६. दही
दही हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक चीज हो । दहीमा प्रोटिन, विभिन्न खाले भिटामिन ‘बी’, ‘सी’, बेटा क्यारोटिनसहित शरीरको रोग प्रतिरोधी क्षमतालाई सन्तुलित बनाइ राख्ने विभिन्न खनिज तत्व पाइन्छ । यसमा मह र फलफूल मिसाएर खाने हो भने थप प्रभावकारी हुन्छ ।
७. बदाम
बदाममा भिटामिन ‘ई’ को मात्रा अत्यधिक हुन्छ । यो भिटामिनलाई निकै शक्तिशाली एन्टिअक्सिडेन्ट मानिन्छ र यसले इम्युनिटीलाई बलियो बनाउँछ ।
८. सूर्यमुखी फूलका बियाँ
सूर्यमुखी फूलका बियाँमा फस्फोरस, म्याग्नेसियम, भिटामिन ‘बी-६’ तथा ‘ई’ लगायतका पौष्टिक तत्व हुन्छन् । भिटामिन ‘ई’ले शरीरको रोग प्रतिरोधी क्रियाकलापलाई सन्तुलन एवं कायम गर्छ । विभिन्न अनुसन्धान (प्राय: जनावारमा गरिएको) अनुसार सूर्यमुखी फूलका बियाँ सेवनबाट स्वाइन फ्लु जस्ता भाइरस संक्रमणसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
९. बेसार
हाम्रो भान्सामा दैनिक प्रयोग हुने अर्को चीज हो- बेसार । बेसारलाई पहिलादेखि नै शरीरमा हुने जलनविरुद्ध प्रयोग गरिँदै आएको पाइन्छ । विशेषगरी बाथ तथा जोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि यो निकै लाभदायक मानिन्छ । बेसारमा सर्कुमिन (यसलाई पहँलो रंङ दिने तत्व) अत्यधिक हुन्छ । हालसम्मका अनुसन्धान अनुसार सर्कुमिनले शरीरको इम्युनिटी पावर बढाउँछ र भाइरलबाट हुने संक्रमणबाट जोगाउँछ ।
१०. हरियो चिया (ग्रिन टी)
हरियो र कालो दुबै चियामा फ्लेभोनोइड नामक एन्टिअक्सिडेन्ट हुन्छ । तर ग्रिन टीमा एपिग्यालोकेटसिन ग्यालेट (ईजिसिजी) नामक महत्वपूर्ण एन्टिअक्सिडेन्ट ब्ल्याक टीमा भन्दा हुन्छ । ईजिसिजी भनेको इम्युनिटी बढाउने एउटा महत्वपूर्ण तत्व पनि हो । साथै, हरियो चियामा पाइने एल थिनाइन नामक एमिनो एसिडले टि कोष (T cells) मा किटाणुसँग लड्न सघाउने पदार्थ उत्पादनमा सहयोग गर्छ ।
१२. मेवा र किवी
मेवा र किवीमा भिटामिन ‘सी’ लगायतका तत्व पाइन्छन् । त्यस्तै दुबै फलफुलमा पोटासियम र फोलेटको मात्रा धेरै हुन्छ । यही भएर मेवा र किवी खाने हो भने हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ ।
The post इम्युनिटी पावर बढाउन यी चीज खानुहोस् appeared first on Sajha Post.