एजेन्सी, १८ बैशाख । कोरोना भाइरसबाट संक्रमित अधिकांश मानिसहरुमा हल्का लक्षण देखिने गर्छन् । हल्का तथा सामान्य लक्षण देखिएका बिरामीहरु केही समय होम आइसोलेशनमा बसेर संक्रमणमुक्त हुन्छन् ।
तर कतिपय संक्रमितमा कोरोनाका लक्षण लामो समयसम्म देखिन्छन् र त्यस्ता मानिसको हकमा कोरोना ठीक भएपछि समेत मृत्युको जोखिम हुने एक अध्ययनले भनेको छ ।
बेलायती पत्रिका नेचरमा प्रकाशित एक लेखमा केही संक्रमितमा कैयौं महिनासम्म पनि मृत्युको जोखिम हुने उल्लेख गरिएको छ । यसबाहेक, सिडिसीद्वारा गरिएको अर्को अध्ययन अनुसार हल्का लक्षण देखिएका मानिसमा केही समयपछि पुन: नयाँ लक्षण देखिन सक्छन् ।
‘हामीले गरेको अध्ययनबाट संक्रमणमुक्त भएपछि समेत ६ महिनासम्म कोरोनाबाट मृत्यु हुने जोखिम रहने पुष्टि हुन्छ’, वाशिङ्टन युनिभर्सिटी मेडिकल स्कुलका सह-प्राध्यापक अल अलीले भने, ‘यहाँसम्म कि कोभिड-१९ का सामान्य बिरामीको हकमा समेत मृत्युको जोखिम कम हुँदैन । संक्रमणको गम्भीरतासँगै यस्तो जोखिम बढ्ने गर्छ र रोगको असर कैयौं वर्षसम्म देखिइरहन सक्छ ।’
नेचरमा प्रकाशित अध्ययनका लागि अनुसन्धानकर्ताले ८७ हजार कोरोनाका बिरामी र झण्डै ५० लाख सामान्य बिरामीको परीक्षण गरेका थिए । उनीहरुले सो परीक्षणबाट अन्य मानिसको तुलनामा कोरोना संक्रमित मानिसमा ६ महिनासम्म मृत्युको जोखिम हुने संभावना ५९ प्रतिशतभन्दा बढी हुने पाएका थिए ।
एक हजार संक्रमितमध्ये लगभग आठ जना संक्रमितको ज्यान लामो समयसम्म देखिने कोरोनाका लक्षणका कारण हुने तर यस्तो मृत्युलाई कोरोनासँग नजोडिने उक्त अध्ययनको निष्कर्ष छ । साथै, हरेक ६ महिनामा एक हजार बिरामीमध्ये ज्यान गुमाउनेको संख्या २९ जनाभन्दा बढी रहेको र यसरी ज्यान गुमाउनेहरु लामो समयसम्म अस्पतालमा भर्ना गरिएका बिरामी रहेको पनि अनसन्धानकर्ताले पत्ता लगाएका थिए ।
त्यस्तै उक्त अध्ययन भन्छ- जुन मानिसमा कोरोना भाइरसका लक्षण लामो समयसम्म देखिन्छन्, ती मानिसलाई सास फेर्न गाह्रो हुने र बिरामी हुने संभावना बढी हुने गर्छ । अर्थात् एक पटक संक्रमित भएका मानिसमा हृदयघात, स्नायुसम्बन्धी रोग, डिप्रेशन, डायबिटिज, मुटु, पेट, मृगौला एवं नशासम्बन्धी रोगका साथै कपाल झर्ने तथा थकान जस्ता समस्या देखिन्छन् ।
अध्ययन अनुसार संक्रमित मानिसलाई निको भएपछि यी समस्या एकसाथ देखिन सक्ने र कोभिड-१९ बाट गम्भीर बिरामी भएका मानिसमा पछिसम्म पनि स्वास्थ्यसम्बन्धी समस्या देखिने संभावना उच्च हुन्छ ।
त्यस्तै अमेरिका सेन्टर फर डिजिस कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हालै गरेको एक अध्ययनबाट सुरुमा सामान्य लक्षण देखिएका कोरोना संक्रमितमध्ये दुई तिहाईलाई ६ महिनापछि नयाँ लक्षण देखिने संभावना हुन्छ ।
सिडिसीले गरेको अध्ययनमा ३ हजार एक सयभन्दा बढी कोरोना संक्रमितलाई सहभागी गराइएको थियो । यसमध्ये कुनै पनि संक्रमित सुरुमा अस्पतालमा भर्ना भएका थिएनन् । तर झण्डै ७० प्रतिशत संक्रमितहरु निको भएको १ देखि ६ महिनाको अन्तरालमा पुन: डाक्टरलाई भेट्न गएका थिए । त्यस्तै झण्डै ४० प्रतिशत मानिसले विशेषज्ञ डाक्टरलाई देखाउनु परेको थियो ।
सिडिसीको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले कोरोनामुक्त भएका मानिसहरु पुन: नयाँ लक्षणसँगै आफूलाई भेट्न आएको कुरा डाक्टरहरुलाई थाहा हुनुपर्ने कुरामा पनि जोड दिएका छन् ।
The post नयाँ अध्ययन भन्छ- ‘कोरोनामुक्त भएपछि पनि कैयौं महिनासम्म जोखिम हुन्छ’ appeared first on Sajha Post.