काठमाडौं, २८ चैत । सरकारले ठूला सहरमा अनलाइन कक्षा संचालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर रोक्नका लागि सरकारले सहरी क्षेत्रमा हुने भीडभाड रोक्ने र भारतबाट हुने आवतजावतमा कडाइ गर्ने तयारी गरेको हो ।
यसका लागि ठूला सहरहरूमा विद्यालय अनलाइन कक्षा सञ्चालन गर्ने र भारतबाट आउनेहरूलाई कडाइ गर्ने निर्णय गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको छ ।
विद्यालय सञ्चालन कसरी गर्ने भन्ने प्रस्ताव तयार भएको र सीसीएमसी बैठकमा प्रस्तुत गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
यस्तै ग्रामीण क्षेत्रमा भने विद्यालय सञ्चालन गर्ने नै योजना रहेको बताइएको छ । अब पठनपाठन भने बन्द गर्न नहुने भन्ने सरकारको योजना रहेको बताइएको छ । काठमाडौं लगायतका ठूला सहरहरूमा विद्यार्थीको आवतजावत ठूलो हुने र विद्यालयमा पनि भीडभाड हुने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सरकारको तयारी छ ।
मन्त्री त्रिपाठीले सरकार अब सकेसम्म लकडाउन नगर्ने भन्ने प्रयत्नमा रहने बताए । उनले यसअघि प्रतिनिधिसभाको बैठकमा पनि कोरोनाको दोस्रो लहर आएपनि पहिलेजस्तो लकडाउन गर्ने योजना नरहेको र सकभर त्यो अवस्था नआओस् भन्ने प्रयत्न सरकारको रहने बताएका थिए ।
The post ठूला सहरमा अनलाइन कक्षा संचालन गर्ने सरकारको तयारी appeared first on Sajha Post.