काठमाडौं, २५ चैत । अबदेखि राति ९ बजेदेखि रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टहरु खोल्न नपाइने भएको छ । सरकारले रात्रिकालीन सबै व्यवसाय तथा रेष्टुरेन्टहरु बन्द गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई भनेका छन् ।
यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।
मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
The post राति ९ बजेपछि रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टहरु खोल्न नपाइने (विज्ञप्तीसहित) appeared first on Sajha Post.