काठमाडौं, १८ माघ । नेपालमा लगाइरहिएको कोरोना खोपले अमेरिकामा प्रयोगका लागि अनुमति पाएको छैन । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज कोभिशिल्ड भ्याक्सिन नेपालमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी लगायतलाई लगाउन सुरु गरिएको छ ।
यो यूकेमा उत्पादन गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड- १९’ भ्याक्सिनको भारतीय उत्पादन हो । बेलायतमा लगाउनका लागि अनुमति पाइएको सकेको यो खोपमा केही समस्या देखिएसँगै अमेरिकामा यसलाई प्रयोगमा ल्याइएको छैन । अष्ट्राजेनेकाले अमेरिकामा भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अझै केही महिना आवेदन नदिने स्पष्ट पारेको छ ।
बेलायतमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिएको र यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको विज्ञहरुले जनाएका छन् ।
यसले बेलायतमा प्रयोगको लागि गत डिसेम्बर ३० मा नै स्वीकृति पाएको थियो । बेलायतसँगै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि अनुमति पाएको यो खोपलाई नेपालमा पनि प्रयोगका लागि अनुमति दिइएको छ ।
सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालीन प्रयोगका लागि अनुमति दिएलगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।
यो खोप दुई डोज दिनुपर्छ । नेपाल लगायतका देशमा प्रयोगमा आए पनि अमेरिकामा भने यसको तत्काल प्रयोग हुने सम्भावना कम देखिएको छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा गरिएको परीक्षणमा यो भ्याक्सिन लक्षणसहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिए पनि अमेरिकाले यसको लागि स्वतन्त्ररुपमा वैज्ञानिक समीक्षा गरिरहेको बताइएको छ ।
यो खोप पूरा डोज लगाएकाहरुमा भन्दा आधा डोज लगाएकोमा बढी प्रभावकारी देखिएसँगै वैज्ञानिकहरु नै अलमलमा परिरहेको बताइएको छ । प्रयोगका क्रममा फरक फरक नतिजा आउनुका साथै अमेरिकामा स्वीकृतिका लागि तेस्रो चरणको परीक्षण पनि बाँकी नै रहेको छ ।
The post अमेरिकामा स्वीकृत छैन नेपालमा लगाइएको कोरोना खोप appeared first on Sajha Post.