काठमाडौं, २३ मंसिर । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनावारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन दिनसम्म ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो ।
‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी विश्वमै पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो । गत जेठमा हुने भनिएको कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको १४ औँ दिनको अवसर पारेर कार्यशालाको आयोजना गरिएको दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको सचिवालयका सदस्य अनुपा रेग्मीले जानकारी दिए । महिनावारीका सम्बन्धमा भएगरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तिका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ ।
भर्चुल र प्रत्यक्ष रुपमा गरिने गोष्ठीमा सबै महादेशका अनुसन्धानकर्मी अभियानकर्मी, सरकारका प्रतिनिधि, नीति निर्माताहरुको सहभागिता रहने छ । भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकार देखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयन सम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री पनि प्रदर्शन हुनेछ ।
गोष्ठीको पहिलो दिन आज मर्यादित महिनावारी सम्वन्धी हाते किताव ‘अ प्राक्टिकल ह्याण्डबुक’ को विमोचन पनि हुनेछ । जुन दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जाल प्रमुख तथा अभियन्ता राधा पौडेलको संयोजनमा २० देशका ४४ जना लेखकहरूले लेखेका छन् ।
The post ‘मर्यादित महिनावारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी नेपालमा appeared first on Sajha Post.