एजेन्सी, ११ पुस । शीतयुद्धका बेला गरिएका आणविक परीक्षणका क्रममा अमेरिकामा मात्रै लाखौं मानिसले ज्यान गुमाएको तथ्य हालै गरिएको एक अध्ययनबाट पुष्टि भएको छ ।
दोस्रो विश्व युद्ध लगत्तै अमेरिकाले व्यापक आणविक परीक्षण गरेको थियो । सोभियत रुससँग तनाव बढ्दै गएपछि अमेरिकाको आणविक क्षमता बढाउन नेभाडामा सैयौं पटक यस्ता परीक्षण भएका थिए । तर सन् १९५० को दशकमा भएका लापरवाहीपूर्ण त्यस्तो परीक्षणका कारण लाखौं अमेरिकीले गम्भीर तथा अनपेक्षित परिणाम भोग्नु परेको एक अध्ययनले देखाएको छ ।
सैयौं पटक जमिन तथा आकाशमा गरिएका आणविक परीक्षणले मानव स्वास्थ्यमा घातक असर परेको एरिजोना विश्वविद्यालयमा गरिएको एक अध्ययनबाट पुष्टि भएको छ । नेभाडामा भएका आणविक परीक्षणका क्रममा विसर्जन भएको रेडियो धर्मी कण तथा हानिकारक विकीरण पानी, हावा तथा खाद्यान्नमा मिसिन पुगेको थियो । फलस्वरुपः सन् १९५१ देखि १९७३ को अवधिमा अमेरिकामात्रै करीव ७ लाख मानिसले ज्यान गुमाएको अनुसन्धानकर्ताले बताएका छन् ।
एरिजोना विश्वविद्यालयका अनुसन्धानकर्ता केथ मेयरले आणविक परीक्षणबाट उत्पन्न विकीरण तथा रेडियोधर्मी कणको विश्लेषण गरेपछि यस्तो निष्कर्ष बाहिर आएको हो । विकीरण तथा रेडियो धर्मी कण कारण खाद्यान्न बढी प्रदुषित भएको तथ्य अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विशेषगरी स्थानीय तहमा उत्पादन हुने दूध बढी प्रदुषित भई मानव स्वास्थ्यमा हानी पुर्याएको प्रतिवेदनले भनेको छ ।
The post आणविक परीक्षणका कारण लाखौं अमेरिकी मृत्युको मुखमा पुगेका थिए appeared first on Sajha Post.