काठमाडौं, २२ असोज । ‘दृष्टिप्रतिको आशा, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ अक्टोबर ८ तारिख अर्थात् बिहीबार विश्व दृष्टि दिवस मनाइएको छ । आँखाको उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइने गरिन्छ ।
दिवसका अवसर पारेर काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालले बाल दृष्टि क्लिनिकको शुभारम्भ गरेको छ । सानै उमेरमा बालबालिकाको दृष्टि समस्यालाई समाधान गर्न सके अन्धोपनका समस्यामा कमी आउने विश्वासका साथ अस्पतालले बाल दृष्टि क्लिनिकको शुभारम्भ गरेको हो ।
कार्यक्रममा नेपाल आँखा अस्पतालका संस्थापक राम प्रसाद पोखरेलले नवनिर्मिति बाल दृष्टि उपचार सेवाको शुभारम्भ गर्दै ६ वर्षदेखि १० वर्षका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाल दृष्टि उपचार सेवालाई अघि बढाउन सुझाव दिए ।
सो अवसरमा रोटरी क्लव अफ ठमेल र रोटरी क्लव अफ क्यानडाको संयुक्त पहलमा अस्पताललाई आँखा एम्बुलेन्स हन्तान्तरण गरिएको थियोे । एक अध्ययनका अनुसार नेपालमा अनुमानित एक लाख पाँच हजार मानिस दृष्टिविहीन छन् ।
दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ । जसमध्ये लगभग ६० प्रतिशत न्यूनदृष्टि महिलामा रहेको प्रतिष्ठानको तथ्याङ्क छ । यसैगरी ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार र १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
The post नेपालमा यसरी मनाइयो विश्व दृष्टि दिवस appeared first on Sajha Post.