रुपन्देही, २१ असोज । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका पुरुष तथा रुपन्देहीकी महिला रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुषको असोज १६ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । दम र उच्च रक्तचापको समेत समस्या रहेका ती पुरुषको मङ्गलबार राति पौने १ बजे मृत्यु भएको हो ।
त्यसैगरी रुपन्दहीको बुटवल उपमहानगरपालिका ९ की ५५ वर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिइन् । पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनको बुधबार विहान मृत्यु भएको हो । उनमा पनि कोरोना संक्रमण सगै उच्च रक्तचापको समस्या रहेको थियो ।
योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । यसबारेमा स्वास्थ्य मन्त्रालयले भने नियमित प्रेस ब्रिफिङमार्फत जानकारी गराउनेछ ।
The post बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.