काठमाडौं, ७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि तीनजनाको ज्यान गएको छ ।
बुधबार ज्यान गुमाउनेमा एक महिला र ६ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यू हुनेको संख्या ४३६ पुगेको छ ।
मृत्यु हुनेमा काठमाडौंकी ६८ वर्षीया महिला रहेकी छन् भने काठमाडौंकै १६ वर्षीय युवक तथा ललितपुरका ७४ वर्षीय पुरुष छन् ।
त्यसैगरी झापाका ८६ वर्षीय सिरहाका ५० वर्षीय तथा बर्दियाका ३९ र ६४ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।
नेपालमा मङ्गलबार ११७२ जना कोरोना संक्रमित थपिँदा १८९३ जना निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । अहिले सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् भने ४९ हजार ९५४ जना निको भइसकेका छन् ।
नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।
The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु appeared first on Sajha Post.