नेपालको राजधानी काठमाडौंमा आइपुग्ने जोसुकै व्यक्ति चाहे त्यो स्वदेशी वा विदेशी किन नहोस् यहाँको वातावरण देखेर नाक नखुम्च्याउने सायद कमै होलान् । यसले सबै जनमानसमा असर गरेको छ । यहाँका मानिसहरु धुलो-धुवाँ, खाल्डा–खुल्डी, सवारी साधनको चाप तथा प्रदुषण, जनमानसको चाप, फोहोरमैला, दुर्गन्ध आदि देखेर वाक्क-दिक्क र आजित मात्र छैनन्, उनीहरुको स्वास्थ्यमा पनि गम्भीर असर पुर्याइरहेको छ ।
विशेषगरी बिहान बेलुकी अफिस समय र अफिस छुट्ने समयमा एकदमै वायु प्रदुषण भइरहेको छ ।
यसका मुख्य कारणहरु छन्–
सडकमा भएका खाल्डाखुल्डी समयमा नै नपुर्नु, मर्मत नगर्नु ।
खानेपानी तथा ढल मर्मतले जथाभावी खन्न तथा पुनःनिर्माण गर्नु ।
सडक निर्माणमा ढिलाई गर्नु ।
सडक निर्माण व्यवस्थित नगर्नु ।
सडक निर्माणको मापदण्ड नहुनु तथा भए पनि पूर्णरुपमा लागू नगर्नु ।
सवारी साधनको माग बढ्नु ।
पुराना सवारी साधनलाई मापदण्ड बनाएर व्यवस्थापन नगर्नु ।
वायु प्रदुषण हुने खालका कलकारखानालाई व्यवस्थित स्थानान्तरण नगर्नु ।
अत्याधिक मात्रामा डिजेल जेनेरेटरको प्रयोग हुनु ।
सडक वरिपरी भएको फोहोर तथा धुलो सफा नगर्नु आदि ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष लगभग दश हजार मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी भएको पाइएको छ । जसले गर्दा जनमानसको स्वास्थ्यमा गम्भीर किसिमको रोग लाग्नुका साथै विभिन्न समस्याहरु उत्पन्न हुन थालेको छ । नेपालले अधिकतम वायुको मापदण्ड पिएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा १२० घनमिटरसम्म पुगेको पाइएको छ । जसका कारण अस्पतालहरुमा श्वास प्रश्वास, आँखा, छाला, मुटुसम्बन्धी रोगीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेका छन् । क्यान्सरजस्तो घातक रोगको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
समाधानका पाटाहरु
सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे मास्क लगाएर निस्कने ।
सकेसम्म बढी भीडभाड र प्रदुषण हुने बाटो प्रयोग नगर्ने ।
आफ्नो वरिपरी हरियाली राख्ने वा वृक्षारोपण गर्ने ।
वातावरणमैत्री सवारी साधनहरुको प्रयोग गर्ने ।
जथाभावी फोहोर मैला नगर्ने/नफाल्ने ।
विभिन्न संघ-संस्थाहरुसँग मिलेर आफ्नो वरिपरी सरसफाई अभियान चलाउने ।
वातावरणलाई असर गर्ने खालका सामग्रीहरुको प्रयोग नगर्ने ।
जिम्मेवार निकायलाई आफ्नो वरिपरी भएको प्रदुषणको जानकारी गराउने तथा मर्मत गर्न घचघच्याउने आदि ।
![](http://www.sajhapost.com/wp-content/uploads/2017/03/Sudip-Khatiwada-300x276.jpg)
यहाँ जिम्मेवार निकायहरु प्रायः निष्क्रियजस्तै देखिन्छन् । ढिलासुस्ती र गैरजिम्मेवारपन बढ्दो छ । जतासुकै अस्तव्यस्त छ । राम्रो कामको जस आफुले लिने र अपजस अरुलाई थुपार्ने प्रवृति बढ्दो छ । एउटा निकायले अर्को निकायलाई दोष थोपार्ने प्रवृति बढ्दो छ । सडकहरु जताततै भत्किएको छ, भत्काइएको छ । मर्मत सम्भारको नाम निशाना छैन ।
आखिर, कति दिन चल्छ यसरी ? कहिलेसम्म नजरअन्दाज गर्छ जनस्वास्थ्यमा परेको असर जिम्मेवार निकायले ?
यी समस्याहरुको उठान गरेपछि केही सुझावहरु सुझाउनु मेरो कर्तव्य हुनेछ ।
बिग्रेका भत्केका सडकहरु शीघ्र मर्मत सम्भार हुनु पर्यो ।
ढल तथा पानीको लागि भत्काइएका ठाउँहरुमा यथासिघ्र काम सकि पुनः निर्माण हुनु पर्यो ।
भत्केका तथा भत्काइएका ठाउँहरुमा धुलो उड्ने व्यवस्था वा चिस्यानको व्यवस्था गर्नुपर्यो ।
मर्मत सम्भार गर्ने जिम्मा भएका निकायलाई समय सिमाभित्र काम सिध्याउने नियम लागू गर्नु पर्यो ।
नेपालमा पनि अनिवार्य स्वास्थ्य बिमा लागू गर्नुपर्यो ।
बाटो छेउछाउ वृक्षारोपण गर्नुपर्यो ।
श्वास प्रश्वास, मुटु आँखा तथा छाला सम्बन्धि रोगको निःशुल्क वा न्यूनतम खर्चमा उपचार गरिनुपर्यो ।
स्वास्थ्य जनचेतना जारी गर्नुपर्यो आदि ।
हामी कल्पनासमेत गर्न सक्दैनौ की कलंकी, चाबहिल, ग्वार्को, जमल, लाजिम्पाट, सातदोबाटो, कलंकीदेखि थानकोटसम्मको बाटो साथै रिङरोड तथा उपत्यकाका विभिन्न ठाउँमा रहेका जनताको स्वास्थ्य कस्तो असर परेको होला ? उनीहरुको स्वास्थ्को जिम्मेवार को ? यसले जनमानसमा कस्तो असर पार्दैछ ? अब तपाई हामीले सोच्ने बेला आएन र ?
The post धूलमाडौंमा फेरिएको उपत्यकाबासीको स्वास्थ्यको जिम्मेवार को ? appeared first on Sajha Post.